भारतीय आँप आयातमा रोक, स्वदेशी उत्पादन संरक्षणमा सरकारको जोड

nepal news portal

काठमाडौ, २० जेठ — नेपाल सरकारले भारतबाट आयात हुने आँपमा प्रतिबन्ध लगाएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको निर्देशनअनुसार भारतीय आँपमा स्वास्थ्यका लागि हानिकारक रसायन भेटिएपछि वैशाख महिनादेखि आयात पूर्ण रूपमा बन्द गरिएको क्वारेन्टाइन कार्यालय भिठामोडले जनाएको छ।

यो पनि पढ्नुस् :

जापानले विषादीका कारण भारतीय आँप आयात रोक्दा नेपालमा पनि बढ्यो चिन्ता

कार्यालयका निमित्त प्रमुख किशोरकुमार यादवका अनुसार प्रतिबन्धको उद्देश्य नेपाली उपभोक्ताको स्वास्थ्य सुरक्षा गर्नुका साथै स्वदेशी आँप उत्पादनलाई प्रोत्साहन गर्नु पनि हो। सरकारले कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने नीति अघि सारेको सन्दर्भमा स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिन यस्तो निर्णय गरिएको बताइएको छ।

तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत महिनादेखि हालसम्म करिब १० लाख रुपैयाँ बराबरको १५.८ मेट्रिक टन भारतीय आँप भिठामोड नाकाबाट नेपाल भित्रिएको थियो। यस वर्ष मधेश प्रदेशका आठ जिल्लामा मात्रै करिब ३० हजार ८ सय हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ। सो क्षेत्रबाट चार लाख मेट्रिक टनभन्दा बढी आँप उत्पादन हुने अनुमान गरिएको छ, जसको बजार मूल्य करिब ४० अर्ब ४० करोड रुपैयाँ बराबर रहने अपेक्षा गरिएको छ।

यद्यपि चैत र वैशाख महिनामा आएको हावाहुरी, असिना तथा मधुवा रोगका कारण उत्पादनमा केही असर परेको किसानहरूले बताएका छन्। यसका बाबजुद पनि मधेश प्रदेश देशकै प्रमुख आँप उत्पादन क्षेत्रका रूपमा रहेको छ।

स्वास्थ्य विज्ञहरूका अनुसार व्यापारीहरूले समयभन्दा अगावै नाफा कमाउने उद्देश्यले काँचो आँपलाई कृत्रिम रूपमा पकाउन विभिन्न रसायन प्रयोग गर्ने गरेका छन्। यस्ता रसायनयुक्त फलफूलको सेवनले उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने चेतावनी उनीहरूको छ।

सरकारले आयातमा प्रतिबन्ध लगाए पनि नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै केही तस्करहरूले अवैध रूपमा भारतीय आँप नेपाल भित्र्याउने प्रयास गरिरहेको पाइएको छ। सम्बन्धित निकायहरूले सीमावर्ती क्षेत्रमा निगरानी बढाएर अवैध आयात नियन्त्रण गर्ने बताएका छन्।