चिया गफ : बालेन र रास्वपाको भविष्य

insight dainik

वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को राजनैतिक यात्रा र रास्वपा सँगको सहकार्यका केहि तथ्यहरू रोचक छन्। काठमाडौंका मेयरमा उम्मेदवारी दिए देखि धेरै मान्छेहरूले बालेनलाई चिन्न थालेका हुन्। परिवर्तनको लहरमा आशाको रुपमा बालेनको उदय भएको हो। बालेन, डिजिटल माध्यमबाट छोटो समयमा उदाएका व्यक्ति हुन्। उनको उदयमा 'Routine of Nepal Banda (RONB) र निर्णायक जीतमा सुरज सिंह ठकुरीको It's my Show नामक चर्चित प्रस्तुति नै हो। बालेन र उनको टिम लामो समय देखि चुपचाप काम गरीरहेको थियो।  त्यसपछि बालेनको जित ठुलो सामजिक चर्चा को विषय भयो।

मेयरको कार्यकालका उनले गरेका उल्लेखनिय काम भनेको, काठमाडौं महानगरलाइ सफा राख्ने देखि सामुदायिक विद्यालयको गुणस्तर सुधार र केहि साना तिना विकास निर्माणका कार्यहरू हुन्।  विकास बजेट सायद २५% भन्दा बढि खर्च हुन सकेन। त्यसमा संघीय सरकारको असहयोग भनेर पन्छिने ठाउँ हुन सक्छ। आर्थिक विवादमा नमुछिनु बालेनको सबल पक्ष थियो।

बालेनको मेयर कार्यकालको मध्यान्तर पछि भदौ २३ र २४ मा नेपालमा जेनजी आन्दोलन भयो । धेरै जसो युवाहरू सामाजिक सञ्जालबाटमा सुरूभएको Nepo Baby Trend, पुराना नेताहरू प्रति असन्तुष्ती र सामाजिक सञ्जाल बन्दको विरोधको समर्थन गरेर भाद्र २३ मा माईतीघरमा जम्मा भएका थिए। नेपाल प्रहरी नेतृत्वमा रहेकाहरूले खासै महत्व नदिएको त्यो प्रदर्शन उग्र हुन थाले पछि अनियन्त्रित भयो र जुन प्रकारको आमहत्या भयो, त्यो नेपालको इतिहासमा कालो दिनको रुपमा रहनेछ।

शान्त र फुल बोकेर बसेका युवा कसरी एक्कासी अनियन्त्रित भए र सुरक्षा निकायले घातक हतियारले गोली किन वर्षायो भन्ने कुरा सधैं अनुसन्धानको विषय हुनेछ । सशस्त्र प्रहरी र नेपाली सेनाको मौनता स्वाभाविक थिएन।

त्यस समयका तात्कालीन प्रधानमन्त्री ओली, जनता माझ अति अलोकप्रिय भएको र चीन भ्रमण फिर्ता लगत्तै घटना घटेको थियो। के. पी. ओली सार्वजनिक स्थानमा जाँदा हुटिङ हुने र सामाजिक सञ्जालमा गाली खाइरहँदा सम्म आत्मा विवेचना गरेको देखिएन । वास्तवमा ओली - देउवा गठबन्धन भ्रष्टाचार संस्थागत गर्न र पुराना भ्रष्टाचारका फाईलहरू दबाउनका लागीभएको थियो। के. पी. ओली विकासप्रेमी र राष्ट्रवादी नेता भए पनि अति अहंकार र बोली उनको पतनको कारण बन्यो।

के. पी. ओलीको राजीनामा पछि पनि नियन्त्रणमा नआएको हत्या, आगजनी र तोडफोडको श्रृंखला, बालेन र सेना प्रमुखको संयुक्त प्रयासबाट शान्त भयो। बालेनले सेना प्रमुख संग वार्ताको आह्वान गरे, सेना प्रमुख अशोक सिग्देलले राष्ट्रका नाममा सम्बोधन गरे पछि सेना सक्रिय भयो।

बालेन र सेना प्रमुखको सम्बन्ध पनि अर्थपूर्ण छ। मेयर भए पछि सबभन्दा पहिला आर्मी चीफ लाई भेट्न गएका मेयर बालेन र अहिलेका प्रधानमन्त्री बालेनको सेना सँग राम्रो र रणनैतिक सम्बन्ध देखिन्छ ।

गत आम निर्वाचनबाट रास्वपालाई भारी बहुमत दिलाएका बालेन्द्र शाह, हाल नेपालको प्रधानमन्त्रीका रुपमा कार्यरत छन् अनि जनताले उनलाई आदर्शवादी नेताका रूपमा हेरिरहेको र ठुलो विश्वास गरेका छन्। उनी समसामयीक नेताहरूमा स्वच्छ आर्थिक छवि भएका नेता पनि हुन्। उनलाई राजा महेन्द्र पछिका राजनेता भएर इतिहसमा नाम लेखाउने मौका पनि छ।

तर केहि तथ्यहरू तिता पनि छन्। बालेनको संवाद नरुचाउने बानी, सामाजिक सञ्जालमा लेखिएका र मेटाईएका केहि पोष्टहरू, हतारमा काम गरेर फुर्सदमा सोच्ने कार्यशैली, असंसदीय कियाकलापले उनको व्यक्तित्वको बारेमा सन्देह पैदा गर्दछ।

बालेनेको उदय र विस्तार उनको व्यवहार जस्तै रहस्यमयी पनि छ। कालो पहिरन र अघोर तन्त्र मान्ने सुनिएका बालेन, नेपालको आर्थिक सामाजिक विकासका राजनेता हुन्छन् कि शक्ति राष्ट्रहरूको खिचातानीमा प्रकट गराईएका बिवादास्पद नेता हुन्छन्, त्यो आगामी एक बर्ष भित्र स्पष्ट हुनेछ। नेपालमा बिदेशी शक्ति द्वारा स्थापित गराइएको राजनैतिक शक्तीहरू यस अघि पनि हामीले देखेका र भोगेका नै हौं ।

सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाहलाई सफलताको शुभकामना । अर्को भागमा रवि लामिछाने र रास्वपाको उदय र भविष्यको बारेमा चर्चा गर्नेछु।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्