चिया गफः रबि र रास्वपा, बिगत देखि वर्तमान सम्म
रबि लामिछाने र रास्वपाको राजनीतिक उदय नेपालको राजनैतिक इतिहासको चर्चित तथा रोचक घटना हो ।
गत स्थानीय तहको निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारहरुको चर्चा र विजयले 'स्वतन्त्र' शब्दलाइ परम्परागत राजनीतिक विचार बोकेका दलहरु भन्दा भिन्न रुपमा चिनायो र स्थापित गर्यो । बालेन्द्र साह (बालेन), गोपी हमाल र हर्क साम्पाङ्गको जीत, उनीहरूको स्थानीय लोकप्रियता र परम्परागत दलका उम्मेदवारहरु प्रतिको वितृष्णा प्रमुख कारणहरू थिए । तर यस शब्दलाई राजनीतिक दलको नाम दिएर राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) जन्माउने परिकल्पनाकार रबि लामिछाने नै हुन् । रविको त्यो सही समयमा गरिएको सही निर्णय थियो । परम्परागत राजनीतिक विचारधारा बोकेर खोलिने नयाँ दलहरूको नेपालमा अब भविष्य पनि छैन । जनतालाई अब राजनीतिक विचारधाराभन्दा आर्थिक विचारधारामा बढी रुचि छ ।
'सिधा कुरा जनतासँग' बाट सुरु र चर्चित भएको रवि लामिछानेको यात्रा आजको दिनमा दुईतिहाइ जनादेश पाएको ' राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) 'को सभापति र वर्तमान नेपालको सञ्चालकको रुपमा चलिरहेको छ ।
विक्रम सम्बत २०७९ को संसदीय निर्वाचनको ६ महिना अगाडि जम्मा २१ जना केन्द्रीय सदस्य सहित सुरु भएको रास्वपाले त्यस निर्वाचनमा २० सांसद सहित राष्ट्रिय दलको रूपमा आफूलाई स्थापित गरायो । पुराना दलहरूलाई यस घटनाले धेरै झस्कायो । त्यसपछि रवि विरुद्ध खोजबिन सुरु भयो । रविको लापरबाहीले निम्त्याएको नागरिकता र दोहोरो पासपोर्ट सम्बन्धि कानुनी विवादले उनको राजनीतिक यात्रा रोक्न सकेन । तर पुरानै दलहरुको सहयात्री भएर गरेको राजनीतिक यात्रा प्रतिशोध र दुर्घटनाको शिकार बन्न पुग्यो ।
जी. बी. राई द्वारा सञ्चालित सहकारी संस्थाहरु बन्द भए र जनताको बचत डुबेको घटनामा रवि लामिछाने पनि जोडिए । रवी लामिछानेले स्थापना र सञ्चालन गरेको ग्यालेक्सी टिभीका मुख्य लगानीकर्ता जी. बी. राई र सञ्चालक रवि लामिछाने थिए । कार्यकारी सञ्चालक भएबापत स्वेट सेयर र तलबमा काम गरेका रवि, जी. बी. राईको आर्थिक घोटालामा मुछिन पुगे ।
प्रत्यक्ष आर्थिक अपराधमा संलग्न नभएका रविलाई मुख्य आरोपीको रुपमा प्रचार गरिएपछि मुख्य आरोपी जी.बी. राई नै ओझेलमा परे ।
कांग्रेस र एमाले नेतृत्वले रविलाई सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा थपेर लामो समय जेलमा राख्ने वातावरण बनाए । अदालतले मात्र गरेको हो भन्ने हो भने हिजो थप्दै गएका मुद्दाहरू अहिले मेलमिलाप सम्ममा टुंगिने अवस्था पुगिसकेका छन् ।
मुख्य रूपमा कांग्रेस र एमालेले संयुक्त रुपमा रास्वपाको प्रभाव रोक्न चाहन्थे र त्यसमा केही हदसम्म सफल पनि भए । रविको जेल जीवन सुरु भयो । राष्ट्र स्वतन्त्र पार्टीको विस्तार रोकिएर पार्टी कमजोर बन्न थाल्यो । तर भदौ २३ र २४ को घटनाले रास्वपालाई अप्रत्याशित फाइदा भयो र कमजोर पार्टीमा शक्तिको सञ्चार सुरु भयो ।
गत आम निर्वाचनमा रास्वपा, रबि लामीछानेको नेतृत्वमा मात्र भाग लिएको भए दुइ तिहाई नजिक पुग्ने थिएन । यसमा बालेनको लोकप्रियता र भावनात्मक मतदानबाट सय सिट थपिएको हो जसमा मधेश प्रदेशको उल्लेखनीय योगदान छ । यो बालेनको Digital Popularity बाट तत्कालीन समयमा आएको प्रचण्ड बहुमत भएपनि सधैं रास्वपा समर्थनमा नहुन सक्छ । रास्वपाको संगठन विस्तार र मधेश प्रदेशबाट निर्वाचित सदस्यहरुसँगको व्यवहारले नै यसको भविष्य निर्धारण गर्नेछ ।
पहाडी क्षेत्रको जनसङ्ख्या घट्दै गएको र मधेसमा जनघनत्व बढ्दै गएको वर्तमान स्थितिमा नेपालको राष्ट्रिय राजनीतिमा अब मधेश प्रदेश र अन्य तराई क्षेत्रको प्रभाव बढ्ने देखिन्छ ।
गत संसदीय निर्वाचनअघि रास्वपा प्राप्तिमा केही चर्चित व्यक्तिहरु जोडिए र केही छुटे । बालेन समूह र सुदन गुरुङ रास्वपामा जोडिए भने कुलमान घिसिङ छुटे । सुदन गुरुङ भदौ २३ आन्दोलनका चर्चित पात्र हुन् र अहिलेको सरकारका प्रभावशाली व्यक्ति पनि हुन् । उनको शक्तिलाई रवि र बालेन दुवैले स्वीकारेको स्थिति छ ।
रास्वपामा देखिएका केही समस्याहरु समयमा सम्बोधन नगरेर अगाडि बढेमा फेरि दुर्घटना निम्तिने सम्भावना हुन सक्छ । भनिन्छ नि Accident is Series of Events.
रास्वपामा देखिएका समस्याहरुलाई बुँदागत रुपमा राख्न चाहन्छु ।
१. राज्य संरचनामा अस्पष्टताः रास्वपामा संविधान संशोधनको बहस चलिरहेको छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रदेश संरचना खारेजी, दलविहीन स्थानीय तह आदि मुख्य मुद्दाहरु छन् । तर पार्टीभित्रै यी कुराहरूमा समान धारणा छैन । स्वर्णीम वाग्लेले प्रदेश खारेजीको कुरा गर्दा रवि त्यसको खण्डन गर्छन् । पार्टीले आफ्नो धारणा बनाएर मात्र राष्ट्रिय बहसमा ल्याउनु उपयुक्त हुन्छ ।
२. सरकार र पार्टीको बढ्दो दूरीः बालेन शाह सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकार्य र संवादहीनताको कमी स्पष्ट रुपमा देखिन थालेको छ । अहिले रबि लामिछाने हदै लचक भएर सरकारको कार्यशैलीको समर्थन गर्दैछन् । तर यो स्थिति लामो समय नरहन सक्छ ।
३. संगठन विस्तारः रास्वपा वास्तवमा विभिन्न विचारधाराका व्यक्तिहरू जम्मा भएर बनेको दल हो । यसमा विगतमा विभिन्न राजनीतिक दलमा सामेल कार्यकर्ता पनि छन् । गत आम निर्वाचनमा पाएको भोट जनताले बिरलै दिने मतादेश हो जसमा रास्वपाको सांगठनिक क्षमताको ठुलो योगदान छैन ।अब आउने स्थानीय तह निर्वाचनमा रास्वपाको ठूलो सांगठनिक परीक्षा हुनेछ किनकि स्थानीय तहमा कांग्रेस र एमालेको राम्रो पकड छ ।
४. आर्थिक नीति र कार्यान्वयनः अबको जमानामा सरकार परिवर्तन राजनीतिक विचारधाराको कारणले भन्दा पनि आर्थिक / सामाजिक कारणले हुनेछ । Economic Unrest नै सरकार परिवर्तनको मुख्य कारण हुनेछ । यस कुरामा रास्वपाले ध्यान पुर्याउन जरुरी छ ।
माथि उल्लेखित कुराहरुलाई ध्यानमा राखेर पार्टी र सरकार सञ्चालन गरेमा रास्वपाको आगामी यात्रा सुखद हुनेछ । अन्यथा अर्को आम निर्वाचन पछि अन्य दलसँग मिलिजुली सरकार बनाउनु पर्ने स्थिति आउन सक्छ । यसमा रवि लामिछाने र बालेन शाहको मेलमिलाप र सहकार्यको ठूलो भुमिका रहनेछ । रास्वपा सभापति रबि लामिछानेलाई सफल कार्यकालको शुभकामना ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्