काठमाडौँ, मङ्सिर १ । काठमाडौँ उपत्यकामा चर्को आवाज निकाल्ने र स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका मोटरसाइकलविरुद्ध ट्राफिक प्रहरीले कारबाही अभियानलाई तीव्र बनाएको छ । अभियानअन्तर्गत पछिल्लो एक सातामै ४०५ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
कम्पनीबाटै जडान भएर आएका साइलेन्सर परिवर्तन गर्ने, डिबी किलर हटाएर अत्यधिक आवाज निकाल्ने तथा मोटरसाइकलका विभिन्न पार्टपुर्जाको स्वरूप परिवर्तन गर्ने प्रवृत्ति बढेपछि प्रहरीले निगरानी र कारबाहीलाई कडाइ गरेको हो ।
प्रहरीका अनुसार केही चालकले मोटरसाइकलको सिट, रङ, ह्यान्डल र लाइटिङ प्रणालीसमेत आफूखुसी परिवर्तन गरी सडकमा गुडाउने गरेका छन् । यस्ता गतिविधिले सवारीसाधनको मौलिक स्वरूप बिगार्नुका साथै सडक सुरक्षामा समेत चुनौती थप्ने गरेको छ ।
विशेषगरी अनावश्यक रूपमा चर्को आवाज निकाल्ने मोटरसाइकलका कारण सर्वसाधारणको दैनिक जीवन प्रभावित हुने गरेको छ । यसको प्रत्यक्ष असर वृद्धवृद्धा, बालबालिका, बिरामी तथा विद्यार्थीमा पर्ने गरेको छ । ध्वनि प्रदूषणले शान्त वातावरणमा बाधा पुर्याउनुका साथै विद्यालय तथा अस्पताल आसपासको क्षेत्रलाई समेत प्रभावित बनाउने गरेको छ ।
ट्राफिक प्रहरीले नागरिकका गुनासा सम्बोधन गर्ने, ध्वनि प्रदूषण नियन्त्रण गर्ने र सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको जनाएको छ । यसका लागि वातावरण विभागसँग समन्वय गरी सवारीसाधनको यान्त्रिक अवस्था परीक्षण तथा प्रदूषण नियन्त्रणसम्बन्धी अनुगमनलाई पनि प्रभावकारी बनाइने भएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले अनुमति नलिई सवारीसाधनको स्वरूप परिवर्तन गर्न निषेध गरेको छ । त्यस्तै, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ अनुसार नियमविपरीत स्वरूप परिवर्तन गरी सवारी चलाएको पाइएमा सात हजारदेखि १५ हजार रुपैयाँसम्म जरिबाना हुन सक्ने व्यवस्था छ ।
प्रहरीको यो अभियानले सडकमा अनावश्यक आवाज र जोखिमपूर्ण स्वरूप परिवर्तन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्