काठमाडौं, असार १६ — मानिस पूर्ण रूपमा बेहोस अवस्थामा रहे पनि मस्तिष्कले भाषा प्रशोधन गर्न र सुनेको कथामा आउने अर्को शब्दको समेत अनुमान गर्न सक्ने संकेत एक नयाँ वैज्ञानिक अध्ययनले देखाएको छ। अमेरिकाको Baylor College of Medicine का अनुसन्धानकर्ताले गरेको यो अध्ययन प्रतिष्ठित वैज्ञानिक जर्नल Nature मा प्रकाशित भएको हो।
अनुसन्धानका क्रममा मिर्गीको शल्यक्रिया गराइरहेका बिरामीहरूलाई सामान्य एनेस्थेसिया (बेहोस बनाउने औषधि) दिइएको अवस्थामा उनीहरूको मस्तिष्कको हिप्पोक्याम्पस भागमा रहेका सयौं न्युरोनको गतिविधि प्रत्यक्ष रूपमा रेकर्ड गरिएको थियो। अत्याधुनिक Neuropixels प्रविधिको प्रयोग गर्दै वैज्ञानिकहरूले बिरामीहरूलाई विभिन्न ध्वनि र छोटा कथाहरू सुनाएका थिए।
परिणामले बेहोस अवस्थामा पनि मस्तिष्कले असामान्य ध्वनि पहिचान गर्ने, समयसँगै त्यसलाई अझ राम्रोसँग छुट्याउने तथा कथा सुन्दै संज्ञा, क्रिया र विशेषणजस्ता शब्दका प्रकार छुट्याउन सक्ने देखाएको छ। अझ रोचक कुरा, मस्तिष्कका संकेतहरूले अर्को शब्द बोलिनुअघि नै त्यसको अनुमान गरिरहेको प्रमाणसमेत फेला परेको अनुसन्धानकर्ताहरूले बताएका छन्।
अनुसन्धान टोलीका अनुसार यस्तो क्षमता अहिलेसम्म सचेत र जाग्राम अवस्थासँग मात्र सम्बन्धित मानिन्थ्यो। तर नयाँ निष्कर्षले चेतना र संज्ञानात्मक क्षमताबीचको सम्बन्धबारे स्थापित धारणालाई पुनर्विचार गर्नुपर्ने संकेत दिएको छ।
वैज्ञानिकहरूका अनुसार यो खोजले चेतनाको वैज्ञानिक अध्ययनलाई नयाँ दिशा दिनुका साथै भविष्यमा बोल्न नसक्ने बिरामीका लागि ब्रेन–कम्प्युटर इन्टरफेस तथा भाषासम्बन्धी सहायक प्रविधि विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
यद्यपि अनुसन्धानकर्ताहरूले यो अध्ययन एक प्रकारको एनेस्थेसियामा मात्र आधारित भएकाले यसको निष्कर्ष निद्रा, कोमा वा अन्य बेहोस अवस्थामा पनि लागू हुन्छ भन्ने निष्कर्ष निकाल्न अझ थप अनुसन्धान आवश्यक रहेको बताएका छन्। साथै अध्ययन मस्तिष्कको हिप्पोक्याम्पस क्षेत्रमा मात्र केन्द्रित भएकाले अन्य भागमा पनि यस्तै प्रक्रिया हुन्छ वा हुँदैन भन्ने विषय अझै खुल्न बाँकी छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्