महँगो मूल्य, गुणस्तरहीन खाना : पृथ्वी राजमार्गका होटलमाथि कडा कारबाही, यात्रुको गुनासो पुष्टि

insight dainik

धादिङ — पृथ्वी राजमार्गका अधिकांश होटल तथा रेस्टुरेन्टले महँगो मूल्य असुल्ने तर त्यसअनुसारको गुणस्तरीय, स्वच्छ र सुरक्षित खाना नदिने यात्रुको गुनासो पछिल्लो अनुगमनले पुष्टि गरेको छ। दैनिक हजारौं यात्रु ओहोरदोहोर गर्ने यस राजमार्गका केही होटलमा बासी खाना, म्याद नाघेका खाद्य सामग्री, कुहिएका तरकारी र फोहोर भान्सामा खाना पकाइएको भेटिएपछि जिल्ला अनुगमन समितिले पाँच व्यवसायीलाई कुल १ लाख १० हजार रुपैयाँ जरिबाना गरेको छ।

राजमार्गका होटलमा यात्रुसँग सामान्यभन्दा धेरै मूल्य लिने, खानेकुराको गुणस्तर कमजोर हुने, सरसफाइमा बेवास्ता गर्ने र उपभोक्तासँग मनपरी व्यवहार गर्ने गुनासो वर्षौंदेखि उठ्दै आएको छ। यात्रुहरू बाध्यतावश बीच बाटोमा उपलब्ध होटलमै खाना खानुपर्ने भएकाले कतिपय व्यवसायीले यही अवस्थाको फाइदा उठाउने गरेको आरोप पनि लाग्दै आएको छ।

यसपटकको आकस्मिक अनुगमनमा गजुरी, थाक्रे, गल्छी र धुनीबेंसी क्षेत्रका होटल तथा रेस्टुरेन्टमा गम्भीर कमजोरी भेटिएपछि कारबाही गरिएको हो। मन्दिरा होटल एन्ड रेस्टुरेन्ट, शुभलक्ष्मी होटल एन्ड रेस्टुरेन्ट, दिव्यांशी होटल एन्ड लज र गल्छी खुवा पसललाई जनही २५ हजार रुपैयाँ तथा थकाली होटललाई १० हजार रुपैयाँ जरिबाना गरिएको छ।

स्वास्थ्य विज्ञका अनुसार वर्षायाममा खाद्य सामग्री छिट्टै बिग्रने भएकाले सरसफाइ र उचित भण्डारणमा विशेष ध्यान दिनुपर्छ। अस्वच्छ खाना सेवन गर्दा झाडापखाला, फुड पोइजनिङलगायत विभिन्न खाद्यजन्य रोगको जोखिम बढ्ने चेतावनी उनीहरूको छ।

जिल्ला प्रशासनले यो कारबाही केवल जरिबानामा सीमित नरहने स्पष्ट गरेको छ। यात्रुको स्वास्थ्यसँग खेलवाड गर्ने, महँगो शुल्क लिएर गुणस्तरहीन सेवा दिने र खाद्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने होटलमाथि आगामी दिनमा पनि नियमित अनुगमन तथा कडा कारबाही जारी रहने जनाएको छ।

उपभोक्ता अधिकारकर्मीहरू भने राजमार्गका होटलमा एकपटकको अनुगमन मात्रै पर्याप्त नहुने बताउँछन्। उनीहरूका अनुसार मूल्यसूची अनिवार्य प्रदर्शन, खाद्य गुणस्तरको नियमित परीक्षण र निरन्तर निगरानी हुन सके मात्र यात्रुले तिरेको मूल्यअनुसार सुरक्षित र गुणस्तरीय सेवा पाउने वातावरण बन्नेछ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्