देशभर अस्पतालको नियमित सेवा ठप्प, अत्यावश्यक सेवामा आन्दोलन गर्न नपाइने कागजमै सिमित

insight dainik

काठमाडौं, साउन १२ । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा मंगलबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको छ। आन्दोलनका कारण सरकारी तथा निजी अस्पतालका नियमित ओपीडी, शल्यक्रिया, स्वास्थ्य परीक्षण तथा फलोअप सेवा प्रभावित भएका छन् भने आकस्मिक सेवा भने यथावत् सञ्चालनमा रहेको चिकित्सक संघले जनाएको छ।

चिकित्सक संघका अनुसार साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवादका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात भएको थियो। घटनामा डा. प्रमोद राम घाइते भएका थिए। संघले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न तथा यस्ता घटना दोहोरिन नदिने प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

आन्दोलनका कारण देशभर नियमित उपचारका लागि अस्पताल पुगेका बिरामी प्रभावित भएका छन्। धेरै अस्पतालमा पूर्वनिर्धारित शल्यक्रिया, ओपीडी तथा अन्य नियमित सेवा स्थगित हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ। चिकित्सकहरूले भने बिरामीको ज्यानसँग प्रत्यक्ष जोडिएको आकस्मिक सेवा भने निरन्तर सञ्चालनमा राखिएको बताएका छन्।

यस घटनाले स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाबारे गम्भीर बहस सुरु भएको छ। स्वास्थ्य सेवा नागरिकको आधारभूत तथा अत्यावश्यक सेवामध्ये पर्ने भएकाले चिकित्सकको सुरक्षा र बिरामीको उपचार अधिकार दुवैलाई समान रूपमा सुनिश्चित गर्नुपर्ने आवाज उठिरहेको छ।

यसैबीच नेपाल सरकारले अत्यावश्यक सेवामा पर्ने निकाय तथा संस्थामा आन्दोलन वा सेवा अवरुद्ध गर्न नपाइने व्यवस्था गरेको सन्दर्भमा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरिनु कानुनी र नीतिगत रूपमा पनि बहसको विषय बनेको छ। यद्यपि चिकित्सक संघले भने आफूहरूको आन्दोलन स्वास्थ्यकर्मीमाथि बढ्दो हिंसाको विरोध र सुरक्षित कार्य वातावरणको मागका लागि भएको स्पष्ट पार्दै आकस्मिक सेवा भने निरन्तर सञ्चालनमा राखिएको जनाएको छ। अब सरकारले दोषीमाथि कानुनी कारबाही गर्दै स्वास्थ्यकर्मीको सुरक्षा र नागरिकको उपचार अधिकार दुवै सुनिश्चित हुने दीर्घकालीन समाधान निकाल्नुपर्ने आवश्यकता औँल्याइएको छ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्