आठ वर्षमा नेपालका २ हजारभन्दा बढी ऐतिहासिक सम्पदाको अभिलेखीकरण

insight dainik

काठमाडौं, कात्तिक २४

नेपालका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र अध्ययन गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘नेपाल हेरिटेज डकुमेन्टेसन प्रोजेक्ट’ (एनएचडीपी) ले आठ वर्षको अवधिमा २ हजारभन्दा बढी ऐतिहासिक स्मारक, २ हजार ५०० भन्दा बढी अभिलेख तथा शिलालेख र ८ हजारभन्दा बढी पुरातात्त्विक वस्तुको विस्तृत विवरण संकलन गरेको छ।

सन् २०१८ मा सुरु भएको उक्त परियोजना आठ वर्षपछि सम्पन्न भएको हो। परियोजनाले ऐतिहासिक सम्पदाको अभिलेखीकरणसँगै नेपालका विभिन्न जात्रा, पर्व, उत्सव तथा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी वृत्तचित्र र अभिलेखसमेत तयार पारेको छ।

परियोजनाबाट संकलित विवरण पुरातत्त्व विभागको राष्ट्रिय सम्पदा अभिलेख तथा डिजिटल डाटाबेसमा समावेश गरिएको छ। जर्मनीको हाइडेलबर्ग विश्वविद्यालयअन्तर्गतको सेन्टर फर ट्रान्सकल्चरल स्टडिज, हाइडेलबर्ग एकेडेमी अफ साइन्सेज एन्ड ह्युम्यानिटिज, नेपालको सराफ फाउन्डेसन फर हिमालयन ट्रेडिसन्स एन्ड कल्चर तथा पुरातत्त्व विभागको संयुक्त पहलमा परियोजना सञ्चालन गरिएको थियो। बेलायतको अर्काडिया फन्डले मुख्य आर्थिक सहयोग उपलब्ध गराएको थियो।

परियोजना सम्पन्न भएसँगै यसको डिजिटल डाटाबेस सञ्चालन, व्यवस्थापन तथा संरक्षणको जिम्मेवारी सराफ फाउन्डेसनले लिने भएको छ। फाउन्डेसनले नेपाल आर्किटेक्चर आर्काइभमार्फत उक्त विवरणलाई निरन्तर उपलब्ध गराउने जनाएको छ।

परियोजना निर्देशक प्राध्यापक क्रिस्टियाने ब्रोसियसका अनुसार डिजिटल अभिलेख अनुसन्धानकर्ता, विद्यार्थी तथा सम्पदा संरक्षणमा रुचि राख्नेहरूका लागि महत्त्वपूर्ण स्रोत बन्नेछ। विशेषगरी नुवाकोटका ऐतिहासिक भवन तथा सम्पदास्थलको विस्तृत अभिलेखीकरणले बाढीबाट क्षतिग्रस्त वा बगाएका संरचनाको मौलिक स्वरूपमा पुनर्निर्माण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

यसैबीच, जर्मनीमा सुरक्षित राखिएका १३औँदेखि २०औँ शताब्दीसम्मका ८०० भन्दा बढी ऐतिहासिक नेपाली हस्तलिखित ग्रन्थ तथा दस्तावेज पनि नेपालको राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिएको छ। ती सामग्रीमा ताडपत्रका पाण्डुलिपि, राजकीय आदेश, अदालतका अभिलेख, संस्कृत ग्रन्थ तथा यात्रावृत्तान्त समावेश छन्।

नेपालका ऐतिहासिक सम्पदाको डिजिटल अभिलेखीकरण र पुराना दस्तावेजको स्वदेश फिर्तीलाई सांस्कृतिक सम्पदा संरक्षणको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

Source : https://danam.cats.uni-heidelberg.de/

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्