सन् २०२६ को फिफा विश्वकप सुरु हुन केही हप्ता मात्र बाँकी रहँदा फुटबल जगतमा एउटा अनौठो विवाद उत्पन्न भएको छ। अमेरिकाका एक विशेष दूत पाओलो जाम्पोलीले इरान र इजरायल-अमेरिका बीचको तनावलाई कारण देखाउँदै इरानको सट्टा इटालीलाई विश्वकपमा सहभागी गराउनुपर्ने प्रस्ताव राखेका थिए। तर, यो प्रस्तावलाई इटाली आफैँले कडा शब्दमा अस्वीकार गरेको छ।
इटालीका खेलकुद मन्त्री एन्ड्रिया अबोदीले यो प्रस्ताव असम्भव र अनुपयुक्त भएको बताउनुभएको छ। उहाँले भन्नुभयो, "पहिले त यो सम्भव छैन, दोस्रो कुरा यो राम्रो विचार पनि होइन। विश्वकप खेल्नका लागि मैदानमै पसिना बगाएर छनोट हुनुपर्छ।" इटालीको ओलम्पिक कमिटीका अध्यक्षले पनि यस्तो प्रस्तावले आफूलाई 'अपमानित' महसुस भएको बताउँदै योग्यताका आधारमा मात्र विश्वकप खेल्नुपर्नेमा जोड दिनुभएको छ।
फिफाले पनि इरान आफ्नै समूहमा खेल्ने कुरामा कुनै शङ्का नरहेको प्रष्ट पारिसकेको छ। इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएपछि यो अराजनैतिक र भावनात्मक प्रस्ताव आएको विश्लेषण गरिएको छ।