पुलिस क्लबमा राखिएका पुराना मूर्ति राष्ट्रिय संग्रहालयलाई हस्तान्तरण गरिँदै

nepal news portal

काठमाडौं — भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा लामो समयदेखि राखिएका १९ वटा पुरातात्त्विक महत्त्वका भगवानका मूर्ति सोमबार पुरातत्व विभागलाई हस्तान्तरण गरिने भएको छ। अन्तर्राष्ट्रिय संग्रहालय दिवसको अवसर पारेर आयोजना गरिने विशेष कार्यक्रममार्फत ती मूर्ति राष्ट्रिय संग्रहालय, छाउनीलाई बुझाइने तयारी गरिएको विभागले जनाएको छ।

पुरातत्व विभागका अनुसार ती मूर्तिहरू ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण भएकाले अब विभागकै संरक्षण र निगरानीमा राखिनेछ। विभागका प्रवक्ता सन्दीप खनालले औपचारिक कार्यक्रमपछि मूर्तिहरू संग्रहालयमा सुरक्षित रूपमा राखिने जानकारी दिएका छन्।

सम्पदा संरक्षणकर्मीहरूले लामो समयदेखि पुलिस क्लबमा यस्ता पुरातात्त्विक सामग्री राखिएको विषयमा प्रश्न उठाउँदै आएका थिए। प्राचीन स्मारक संरक्षण ऐनअनुसार पुरातात्त्विक महत्त्वका वस्तुहरू पुरातत्व विभागको संरक्षणमा हुनुपर्ने कानुनी व्यवस्था छ। तर ती मूर्तिहरू कसरी र कहाँबाट पुलिस क्लबमा ल्याइयो भन्ने स्पष्ट विवरण सार्वजनिक भएको थिएन।

गत वर्ष पुरातत्व विभागले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्दै मूर्तिबारे जानकारी मागेको थियो। त्यसपछि विभागका कर्मचारीले स्थलगत अध्ययन तथा निरीक्षण गरेका थिए। अध्ययनका क्रममा मूर्तिहरू पुरातात्त्विक महत्त्वका रहेको पुष्टि भएपछि संरक्षण प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।

सम्पदा संरक्षणकर्मीहरूले मूर्तिहरूलाई सार्वजनिक पहुँच भएको संग्रहालयमा राखिनु सकारात्मक कदम भएको बताएका छन्। उनीहरूका अनुसार यसले ऐतिहासिक सम्पदाको संरक्षणसँगै भावी पुस्तालाई नेपालको कला, संस्कृति र इतिहासबारे जानकारी दिन सहयोग पुग्नेछ।