“राष्ट्रपति कि रिमोट कन्ट्रोल ?” ट्रम्पलाई युद्धअघि अनुमति लिनुपर्ने सिनेटको सन्देश, आफ्नै पार्टीका सांसदले पनि गरे विद्रोह

nepal news portal

काठमाडौं । विश्वभर “एक ट्विटमै युद्ध सुरु हुन सक्छ” भन्ने चिन्ता बढिरहेका बेला अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धसम्बन्धी अधिकार सीमित गर्ने प्रस्ताव पारित गरेको छ । लगातार सात पटक असफल भएको प्रस्ताव अन्ततः आठौँ प्रयासमा पारित भएपछि अमेरिकी राजनीतिमा नयाँ बहस सुरु भएको छ । प्रस्ताव विशेषगरी इरानविरुद्ध संसदको अनुमति बिना सैन्य हमला गर्न नपाइने विषयमा केन्द्रित छ ।

सिनेटमा भएको मतदानमा प्रस्तावको पक्षमा ५० मत परेको थियो भने विपक्षमा ४७ मत परेको थियो । अझ रोचक पक्ष के रह्यो भने ट्रम्पकै रिपब्लिकन पार्टीका चार सिनेटरले पार्टी लाइन तोड्दै डेमोक्रेटिक पक्षमा मतदान गरे । सुसान कोलिन्स, लिसा मुर्कोव्स्की, र्यान्ड पल र बिल क्यासिडीले ट्रम्प प्रशासनको युद्ध नीतिमाथि प्रश्न उठाएका हुन् ।

डेमोक्रेटिक सिनेटर टिम केनले ल्याएको प्रस्तावमा संसदले औपचारिक रूपमा युद्ध घोषणा नगरेसम्म वा विशेष अनुमति नदिएसम्म अमेरिकी सेनालाई इरानविरुद्ध शत्रुतापूर्ण गतिविधिमा प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ । डेमोक्रेटिक नेताहरूले यसलाई “संविधान जोगाउने कदम” भनेका छन् भने ट्रम्प समर्थकहरूले राष्ट्रपतिको अधिकार कमजोर बनाउने प्रयासका रूपमा व्याख्या गरेका छन् ।

सिनेटर एडम सिफले “असंवैधानिक युद्ध रोक्न फेरि सफल भयौँ” भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् । यता बर्नी स्यान्डर्सले अमेरिकी जनता अन्तहीन युद्धमा अर्बौँ डलर खर्च गर्न तयार नरहेको बताएका छन् ।

यो निर्णय अमेरिका–इरान तनाव चर्किरहेका बेला आएको हो । केही दिनअघि ट्रम्पले इरानमाथि हुने भनिएको ठूलो सैन्य हमला अन्तिम समयमा रोकेको खुलासा गरेका थिए । कतार, साउदी अरब र यूएईका नेताहरूले शान्ति वार्ता सकारात्मक दिशामा रहेको भन्दै हमला स्थगित गर्न आग्रह गरेपछि ट्रम्प पछि हटेको बताइएको छ ।

यद्यपि ट्रम्पले इरानसँग “परमाणु हतियार नहुने” सर्तमा मात्रै सम्झौता सम्भव हुने स्पष्ट पारेका छन् । उनले अमेरिकी सेना अझै उच्च सतर्कतामा रहेको र आवश्यक परे तत्काल ठूलो सैन्य कारबाही गर्न तयार रहेको चेतावनी पनि दिएका छन् ।