FIFA World Cup 2026 को उद्घाटन समारोह यसपटक तीनवटै आयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रमसहित आयोजना हुने भएको छ। विश्व फुटबल महासंघ FIFA ले शनिबार सार्वजनिक गरेको आधिकारिक लाइनअपअनुसार विश्व चर्चित कलाकारहरूले तीन फरक देशमा प्रस्तुति दिनेछन्।
फिफाले विश्वकपलाई केवल फुटबल प्रतियोगितामा सीमित नराखी संगीत, मनोरञ्जन र सांस्कृतिक विविधताको महोत्सवका रूपमा प्रस्तुत गर्न खोजेको जनाएको छ। उत्तर अमेरिकी महादेशमा पहिलोपटक तीन देशले संयुक्त रूपमा आयोजना गर्न लागेको यस विश्वकपको उद्घाटन समारोहलाई भव्य बनाउने तयारी गरिएको छ।
अमेरिकाको Los Angeles मा जुन १२ मा आयोजना हुने उद्घाटन समारोह ९० मिनेट लामो हुनेछ। कार्यक्रममा Katy Perry (केटी पेरी), Future (फ्युचर), Anitta (अनिट्टा), Lisa (लिसा), Rema (रेमा) र Tyla (टाइला) ले प्रस्तुति दिने तय भएको छ।
यस्तै Mexico मा जुन ११ मा हुने उद्घाटन समारोहमा Alejandro Fernández (अलेजान्द्रो फर्नान्डेज), Belinda (बेलिन्डा), Danny Ocean (ड्यानी ओसियन), J Balvin (जे बाल्भिन), Maná (माना) लगायतका कलाकारको प्रस्तुति रहनेछ।
त्यसैगरी Canada मा जुन १२ मा आयोजना हुने समारोहमा Alanis Morissette (अलानिस मोरिसेट), Alessia Cara (अलेस्सिया कारा), Jessie Reyez (जेस्सी रेयेज), Michael Bublé (माइकल बुब्ले) तथा Nora Fatehi (नोरा फतेही) ले प्रस्तुति दिनेछन्।
जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुने विश्वकपमा यसपटक ४८ राष्ट्र सहभागी हुनेछन्। प्रतियोगितालाई इतिहासकै सबैभन्दा ठूलो र मनोरञ्जनमूलक विश्वकपका रूपमा प्रस्तुत गर्ने फिफाको तयारी रहेको छ।