Shakira ले सन् २०२६ को FIFA World Cup 2026 का लागि आफ्नो आधिकारिक गीत सार्वजनिक गर्ने घोषणा गरेकी छन्। ४९ वर्षीया कोलम्बियन पप स्टारले ‘डाइ डाइ’ नामक नयाँ गीत यही मे १४ मा सार्वजनिक हुने जानकारी दिएकी हुन्। उक्त गीतमा नाइजेरियाली गायक Burna Boy को पनि सहकार्य रहेको छ।
शाकिराले ब्राजिलको प्रसिद्ध Maracanã Stadium बाट इन्स्टाग्राम भिडियोमार्फत गीतको झलक सार्वजनिक गरेकी थिइन्। उनले यसअघि पनि सन् २०१० को दक्षिण अफ्रिकामा आयोजित विश्वकपका लागि चर्चित गीत ‘वाका वाका (दिस टाइम फर अफ्रिका)’ गाएकी थिइन्, जुन विश्वभर निकै लोकप्रिय बनेको थियो।
त्यसपछि उनले सन् २०१४ को ब्राजिल विश्वकपमा ‘ला ला ला (ब्राजिल २०१४)’ शीर्षकको गीत प्रस्तुत गरेकी थिइन्। त्यतिबेला उनले रियो दि जेनेरियोमा आयोजित समापन समारोहमा प्रत्यक्ष प्रस्तुति समेत दिएकी थिइन्। साथै सन् २००६ को जर्मनी विश्वकप समापन समारोहमा पनि उनले आफ्नो चर्चित गीत ‘हिप्स डोन्ट लाइ’ प्रस्तुत गरेकी थिइन्।
यसपटकको विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदैछ। प्रतियोगिता जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ। शाकिराको देश कोलम्बिया पनि ४८ टोली सहभागी रहने उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ।