भारतमा डिजिटल भुक्तानीको प्रयोग तीव्र रूपमा बढेसँगै अनलाइन ठगीका घटनाले पनि भयावह रूप लिन थालेको छ। पछिल्लो एक वर्षमा मात्रै करिब २५ लाख भारतीय नागरिक डिजिटल ठगीको सिकार बनेका छन् भने उनीहरूले दुई खर्ब भारतीय रुपैयाँभन्दा बढी रकम गुमाएको तथ्य सार्वजनिक भएको छ।
बीबीसीका अनुसार ठगहरूले सरकारी वेबसाइटजस्तै देखिने नक्कली लिङ्क, एसएमएस र फिसिङ प्रविधि प्रयोग गरेर मानिसहरूलाई झुक्याइरहेका छन्। पुणेका एक व्यापार विश्लेषकले ट्राफिक जरिवाना तिर्न भन्दै आएको सन्देशमा क्लिक गर्दा केही मिनेटमै उनको खाताबाट लाखौँ रुपैयाँ चोरी भएको घटना सार्वजनिक भएपछि समस्या झन् चर्चामा आएको हो।
विज्ञहरूले यसलाई “सोसल इन्जिनियरिङ” शैलीको ठगी भनेका छन्, जसमा मानिसलाई डर र हतारको मनोविज्ञानमा पारेर ओटीपी वा बैंक विवरण लिन खोजिन्छ।
बढ्दो ठगी नियन्त्रण गर्न भारतको केन्द्रीय बैंक Reserve Bank of India ले नयाँ नियम ल्याउने तयारी गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार डिजिटल कारोबारमा रकम तुरुन्त नकटाई एक घण्टापछि मात्रै पठाइने, ज्येष्ठ नागरिकको ठूलो कारोबारमा थप प्रमाणीकरण अनिवार्य गरिने तथा शंकास्पद खातामाथि कडा निगरानी गरिनेछ।
यद्यपि प्रविधि तथा बैंकिङ क्षेत्रका विज्ञहरूले केवल नियम कडा बनाएर मात्रै समस्या समाधान नहुने बताएका छन्। उनीहरूका अनुसार डिजिटल साक्षरता, जनचेतना र कृत्रिम बुद्धिमत्ता आधारित निगरानी प्रणालीलाई अझ प्रभावकारी बनाउन आवश्यक छ।