Internal Displacement Monitoring Centre ले सार्वजनिक गरेको ‘आन्तरिक विस्थापनसम्बन्धी विश्व प्रतिवेदन २०२६’ अनुसार सन् २०२५ मा विश्वभर द्वन्द्व, हिंसा तथा प्राकृतिक विपत्तिका कारण आन्तरिक रूपमा विस्थापित हुने मानिसहरूको संख्या ऐतिहासिक रूपमा बढेको छ। प्रतिवेदनअनुसार गत वर्ष मात्रै ३ करोड २३ लाख नयाँ आन्तरिक विस्थापन द्वन्द्व तथा हिंसाका कारण भएको थियो। पहिलो पटक द्वन्द्वजन्य विस्थापन प्राकृतिक विपत्तिबाट हुने विस्थापनभन्दा बढी देखिएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनले वर्षको अन्त्यसम्म विश्वभर आन्तरिक रूपमा विस्थापित मानिसहरूको कुल संख्या ८ करोड २२ लाख पुगेको जनाएको छ। सन् २०१६ मा यो संख्या ३ करोड ८९ लाख रहेको थियो। पछिल्लो दशकमा विस्थापन झण्डै दोब्बर भएको प्रतिवेदनले देखाएको छ।
द्वन्द्वजन्य विस्थापन सन् २०२४ को तुलनामा ६० प्रतिशतले बढेको छ। अन्तर्राष्ट्रिय युद्ध, दीर्घकालीन सशस्त्र संघर्ष तथा सहरी क्षेत्रमा बढ्दो हिंसाले लाखौं मानिसलाई घरबार छोड्न बाध्य बनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
देशअनुसार विस्थापनको अवस्था
सुडान : ९१ लाख मानिस आन्तरिक रूपमा विस्थापित, विश्वकै सबैभन्दा बढी प्रभावित देश।
कोलम्बिया : ७२ लाख मानिस द्वन्द्व र हिंसाका कारण विस्थापित।
सिरिया : लामो समयदेखिको युद्धका कारण ६० लाख मानिस प्रभावित।
यमन : ४८ लाख मानिस मानवीय संकट तथा हिंसाबाट प्रभावित।
अफगानिस्तान : ४४ लाख मानिस असुरक्षा र संघर्षका कारण विस्थापित।
प्रतिवेदनअनुसार आँधी, बाढी तथा जलवायुजन्य विपत्तिका कारण सन् २०२५ मा २ करोड ९९ लाख मानिस विस्थापित भएका थिए। यो संख्या सन् २०२४ को तुलनामा कम भए पनि पछिल्लो १० वर्षको औसतभन्दा अझै १३ प्रतिशत बढी रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनले विस्थापन अब अस्थायी मानवीय संकट मात्र नभई “विश्वव्यापी संरचनागत संकट” बनेको चेतावनी दिएको छ। एउटै व्यक्ति पटक–पटक विस्थापित भइरहँदा संरक्षण प्रणालीमाथि गम्भीर दबाब परेको भन्दै सम्बन्धित सरकार तथा अन्तर्राष्ट्रिय निकायलाई दीर्घकालीन समाधान खोज्न आग्रह गरिएको छ।