बागलुङमा जंगलबाट ल्याइएको जंगली कन्दमूल खाँदा एक वृद्धाको मृत्यु भएको छ भने आठ जना बिरामी परेका छन्। बडिगाड गाउँपालिका–५ खाराबजार क्षेत्रमा भएको उक्त घटनाले स्थानीयवासी त्रसित बनेका छन्।
स्थानीयका अनुसार जंगलमा पाइने जंगली भ्याकुर भनेर चिनिने कन्दमूल पकाएर खाएपछि एक्कासि स्वास्थ्य समस्या देखिएको थियो। कन्दमूल सेवन गरेलगत्तै चक्कर लाग्ने, वान्ता हुने, हातखुट्टा लुलो हुने तथा शरीर कमजोर हुने समस्या देखिएपछि सबैलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो।
घटनामा ७२ वर्षीया फिरककुमारी घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य आठ जना भने उपचाररत रहेका छन्। बिरामी हुनेमा दुरपती कामी, विष्णु घिमिरे, शारदा न्यौपाने, अबिसन घिमिरे, भोजराज घिमिरे, सुरेन्द्र विक, पुतली घिमिरे र खिमानन्द घिमिरे रहेका छन्। उनीहरूले एउटै घरमा पकाइएको भ्याकुर खाएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सबै बिरामीलाई बुर्तिबाङ अस्पताल पुर्याएर उपचार भइरहेको छ। केहीको अवस्था सुधारोन्मुख रहेको जनाइएको छ। प्रारम्भिक अनुसन्धानमा विषाक्त जंगली कन्दमूल सेवनका कारण घटना भएको अनुमान गरिएको छ।
स्थानीय प्रशासनले जंगलमा पाइने अपरिचित कन्दमूल तथा वनस्पति पहिचानबिनै सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। वर्षायाम सुरु भएसँगै ग्रामीण क्षेत्रमा जंगलबाट विभिन्न जंगली कन्दमूल संकलन गर्ने चलन बढ्ने भएकाले सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।
स्वास्थ्यकर्मीहरूले जंगली वनस्पतिमा प्राकृतिक विषाक्त तत्व हुन सक्ने भएकाले सामान्य देखिने कन्दमूल पनि जोखिमपूर्ण हुन सक्ने बताएका छन्। यस्तो वस्तु सेवन गरेपछि शरीरमा असामान्य लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा पुग्न सुझाव दिइएको छ।