विश्वकै सबैभन्दा धेरै प्रयोग हुने वेब ब्राउजरमध्ये एक Google Chrome फेरि विवादमा तानिएको छ। साइबर सुरक्षा अनुसन्धानकर्ता Alexander Hanff ले हालै सार्वजनिक गरेको अनुसन्धानअनुसार क्रोमले केही प्रयोगकर्ताको कम्प्युटरमा करिब ४ जीबी आकारको एआई मोडल चुपचाप डाउनलोड गरिरहेको दाबी गरिएको छ। उक्त फाइल “weights.bin” नाममा डिभाइसमा स्टोर हुने र यो गुगलको “Gemini Nano” नामक अन-डिभाइस एआई प्रणालीसँग सम्बन्धित रहेको बताइएको छ।
अनुसन्धान प्रतिवेदनअनुसार प्रयोगकर्ताले कुनै स्पष्ट अनुमति नदिँदा पनि क्रोमले हार्डवेयर क्षमता जाँच गरेर योग्य डिभाइसमा स्वतः एआई मोडल डाउनलोड गर्न सक्छ। विशेषगरी उच्च क्षमता भएका कम्प्युटर तथा पर्याप्त स्टोरेज भएका प्रणालीलाई लक्षित गरिएको दाबी गरिएको छ। अनुसन्धानकर्ताले म्याकओएसमा गरिएको परीक्षणमा ब्राउजर निष्क्रिय अवस्थामा रहँदा समेत पृष्ठभूमिमा ४ जीबी फाइल डाउनलोड भएको बताएका छन्।
यस विषयले विशेषगरी युरोपेली गोपनीयता कानुन तथा डेटा सुरक्षासम्बन्धी बहसलाई फेरि तीव्र बनाएको छ। अनुसन्धानकर्ताको दाबीअनुसार प्रयोगकर्ताको डिभाइसमा ठूलो आकारको डेटा स्पष्ट सहमति बिना राखिनु युरोपेली “GDPR” तथा “ePrivacy Directive” विरुद्ध हुनसक्छ। यद्यपि यसबारे अदालतबाट कुनै औपचारिक निर्णय भइसकेको छैन।
अर्कोतर्फ, विकासोन्मुख देशका प्रयोगकर्ताले महँगो इन्टरनेट, सीमित डेटा प्याकेज तथा कमजोर कनेक्टिभिटीका कारण प्रत्यक्ष असर भोग्नुपर्ने चिन्ता पनि उठेको छ। ४ जीबी जति ठूलो फाइल स्वतः डाउनलोड हुँदा मोबाइल हॉटस्पट वा सीमित डेटा प्रयोग गर्ने व्यक्तिलाई अतिरिक्त आर्थिक भार पर्न सक्ने विश्लेषण गरिएको छ।
अनुसन्धानकर्ताले ठूलो मात्रामा यस्ता एआई मोडल विश्वभर वितरण गर्दा ऊर्जा खपत र कार्बन उत्सर्जन समेत उल्लेखनीय हुने दाबी गरेका छन्। यद्यपि ती अनुमानबारे विभिन्न विज्ञले प्रश्न उठाएका छन्। हालसम्म Google ले यस विषयमा विस्तृत सार्वजनिक प्रतिक्रिया दिएको छैन।