गलकोटमा पहिलो पटक भव्य रूपमा हनुमान नाच प्रदर्शन

nepal news portal

बागलुङ । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको हनुमान नाच गलकोट नगरपालिकामा पहिलो पटक भव्य रूपमा प्रदर्शन गरिएको छ। नेवा: खल गलकोटको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले स्थानीय स्तरमा सांस्कृतिक जागरण र संरक्षणको सन्देश दिएको छ।

हनुमान नाच अवलोकनपछि बोल्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले यो नाच केवल नृत्य नभई हाम्रो ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक जीवनशैलीको अभिन्न हिस्सा भएको बताए। उनले यसले परम्परागत मूल्य, मान्यता र सामाजिक एकतालाई मजबुत बनाउने उल्लेख गर्दै नयाँ पुस्तामा मौलिक पहिचानको बोध गराउने विश्वास व्यक्त गरे।

नगर प्रमुख गैरेले हनुमान नाच संरक्षणमा लागिपरेका कलाकार, गुरु तथा अभियन्ताहरुलाई धन्यवाद दिँदै स्थानीय तह यस प्रकारका मौलिक परम्परा जोगाउन प्रतिबद्ध रहेको स्पष्ट पारे।

हनुमान नाच संरक्षण परिषद बागलुङका अध्यक्ष तिर्थ श्रेष्ठले संस्कृति जोगाउने जिम्मेवारी युवा पुस्ताको काँधमा रहेको बताए। उनले “हाम्रो पुरानो कला जोगाउने दायित्व हामी सबैको हो,” भन्दै पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेको हनुमान नाचलाई पुनर्जीवन दिन तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।

नेवा खल गलकोटका अध्यक्ष प्रनाथ श्रेष्ठले करिब तीन सय वर्ष पुरानो यस सांस्कृतिक सम्पदालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले गलकोटमा पहिलो पटक प्रदर्शन गरिएको बताए। उनले यसले स्थानीय संस्कृति, पर्यटन प्रवर्द्धन तथा सामाजिक एकता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा स्थानीयवासी, विद्यार्थी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा संस्कृतिप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रम प्रनाथ श्रेष्ठको अध्यक्षता, विरेन्द्र श्रेष्ठको स्वागत र श्याम सुन्दर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो।