समस्याग्रस्त सहकारीका ठूला ऋणीमाथि कडाइ, नाम सार्वजनिक गर्दै असुली प्रक्रिया तीव्र

nepal news portal

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लामो समयदेखि ऋण नतिर्ने ठूला ऋणीहरूमाथि कडाइ सुरु गरेको छ। बचतकर्ताको रकम फिर्ता गराउने उद्देश्यसहित समितिले विभिन्न समस्याग्रस्त सहकारी संस्थासँग सम्बन्धित ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न थालेको हो। बिहीबार जारी गरिएको सूचनाअनुसार पहिलो चरणमा १० वटा समस्याग्रस्त सहकारी संस्थासँग जोडिएका ठूला ऋणीहरूको विवरण सार्वजनिक गरिएको छ।

समितिका अनुसार सार्वजनिक गरिएका ऋणीहरूले तत्काल समितिको सम्पर्कमा आएर बक्यौता ऋण चुक्ता गर्नुपर्नेछ। समयमै सम्पर्कमा नआए कानुनी प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ। समितिले आगामी दिनमा अन्य सहकारीका ऋणीहरूको नामसमेत क्रमिक रूपमा सार्वजनिक गरिने जनाएको छ। यस कदमले लामो समयदेखि रोकिएको बचतकर्ताको रकम फिर्ता प्रक्रियालाई गति दिने अपेक्षा गरिएको छ।

यसरी नाम सार्वजनिक गरिएका सहकारी संस्थामा घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ सहकारी, गौतमश्री सहकारी तथा नेपाल सहकारी वित्तीय संस्था रहेका छन्।

पछिल्ला वर्षहरूमा सहकारी क्षेत्रमा देखिएको आर्थिक अनियमितता र बचतकर्ताको रकम फिर्ता नहुने समस्या गम्भीर बन्दै गएको छ। हजारौँ सर्वसाधारणको बचत जोखिममा परेपछि सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरेर छानबिन तथा असुली प्रक्रिया अघि बढाएको हो। समितिले ऋणीहरूको सम्पत्ति विवरण संकलन, आर्थिक कारोबार निगरानी तथा कानुनी कारबाहीलाई थप प्रभावकारी बनाउने तयारीसमेत गरेको जनाएको छ।

सहकारी पीडितहरूले भने नाम सार्वजनिक गर्ने कार्य स्वागतयोग्य भए पनि बचत रकम छिटो फिर्ता गराउनेतर्फ सरकार अझ प्रभावकारी बन्नुपर्ने माग गरेका छन्।