काठमाडौँमा सिक्री लुटपाट गर्ने गिरोह पक्राउ

nepal news portal

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा महिलाको घाँटीबाट सुनको सिक्री लुट्दै हिँड्ने एक संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले पछिल्लो समय बढ्दै गएको सिक्री लुटपाटका घटनामाथि अनुसन्धान गर्दै उक्त गिरोहलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिकाका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, नुवाकोट विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य तथा सोलुखुम्बुका १९ वर्षीय रितिका माझी रहेका छन्। उनीहरूलाई काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ४ पैँयुटार क्षेत्रबाट पक्राउ गरिएको हो।

प्रहरी अनुसन्धानका क्रममा उनीहरूले गत चैत १२, चैत १९ र वैशाख ६ गते काठमाडौँका विभिन्न स्थानमा पुगेर महिलाहरूलाई लक्षित गरी सुनका सिक्री लुट्ने गरेको खुल्न आएको छ। मोटरसाइकल तथा पैदल रूपमा उनीहरूले अचानक आक्रमण गरी सिक्री तानेर भाग्ने शैली अपनाउने गरेका थिए।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले १२ दशमलव ९० ग्राम सुन, एक थान खुकुरी, एक थान पेचकस, ठूलो रेन्ची एक थान, सानो रेन्ची आठ थान, मोबाइल फोन तथा लुटपाटमा प्रयोग गरिने कपडालगायत सामग्री बरामद गरेको जनाएको छ। यी सामग्रीहरू लुटपाटका घटनामा प्रयोग हुने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गिरोहलाई प्रहरी वृत्त थानकोटमा राखेर थप अनुसन्धान भइरहेको छ। काठमाडौँ उपत्यकामा पछिल्लो समय बढ्दै गएको सिक्री लुटपाटका घटनालाई नियन्त्रणमा लिन प्रहरी सक्रिय रूपमा परिचालित भइरहेको पनि उनले बताए।

प्रहरीले यस्ता घटनाबाट बच्न सर्वसाधारणलाई सतर्क रहन, सुनका गरगहना देखिने गरी नलगाउन र शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा तुरुन्त जानकारी गराउन आग्रह गरेको छ।