काठमाडौँ । दशकौँदेखि विनाशको जोखिममा रहेको समुद्री तटीय म्यान्ग्रोभ वन विश्वभर पुनः विस्तार हुन थालेको छ। सन् १९८४ देखि २०१० सम्म करिब २ हजार ९०० वर्ग किलोमिटर म्यान्ग्रोभ वन नष्ट भएकोमा सन् २०१० यता झण्डै २ हजार वर्ग किलोमिटर क्षेत्रफलमा पुनः वन विस्तार भएको नयाँ अध्ययनले देखाएको छ।
अमेरिकाको टुलेन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले चार दशकसम्मका भूउपग्रह तस्बिर तथा तथ्याङ्क विश्लेषण गरेर यस्तो निष्कर्ष निकालेका हुन्। अध्ययनको नतिजा प्रतिष्ठित वैज्ञानिक जर्नल Science मा प्रकाशित भएको छ।
अनुसन्धानअनुसार सन् २०२३ सम्म आइपुग्दा पछिल्ला चार दशकमा भएको म्यान्ग्रोभ वनको कुल खुद क्षति घटेर करिब एक प्रतिशतमा सीमित भएको छ। यसले विश्वभर म्यान्ग्रोभ वन विनाशको गति सुस्त हुँदै गएको र पुनः विस्तारले सकारात्मक परिणाम दिन थालेको संकेत गरेको छ।
वन पुनः विस्तार हुनुमा प्राकृतिक पुनरुत्पादन र संरक्षण कार्यक्रमको महत्वपूर्ण योगदान रहेको अध्ययनले उल्लेख गरेको छ। कतिपय स्थानमा पहिले झिँगेमाछा पालनका लागि प्रयोग गरिएका तर छाडिएका पोखरी तथा नयाँ बनेका नदीमुखका हिलोयुक्त तटीय क्षेत्रमा म्यान्ग्रोभ आफैँ फैलिन थालेका छन्।
अमेरिकाको मिसिसिपी नदी डेल्टामा पनि म्यान्ग्रोभ वनको क्षेत्रफल बढेको पाइएको छ। त्यहाँ तापक्रम वृद्धि भएपछि पहिले अत्यधिक चिसोका कारण म्यान्ग्रोभ फैलिन नसक्ने उत्तरी क्षेत्रहरूमा समेत यसको विस्तार भएको अनुसन्धानकर्ताहरूको भनाइ छ।
म्यान्ग्रोभ वनले समुद्री आँधी, तटीय कटान र बाढीबाट बस्ती जोगाउन महत्वपूर्ण भूमिका खेल्छ। यसले माछा तथा अन्य समुद्री जीवका लागि बासस्थान उपलब्ध गराउनुका साथै वायुमण्डलबाट कार्बन सञ्चय गरेर जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोग पुर्याउँछ।
अनुसन्धानकर्ताहरूले वन क्षेत्रफल बढ्नु सकारात्मक भए पनि यसको संरक्षण निरन्तर आवश्यक रहेको बताएका छन्। वन फँडानी रोक्नु, नदीबाट आउने प्राकृतिक गेग्रान तथा माटोको प्रवाह कायम राख्नु र पुनर्स्थापना कार्यक्रमलाई प्रभावकारी बनाउनु म्यान्ग्रोभ संरक्षणका लागि महत्वपूर्ण हुने उनीहरूको निष्कर्ष छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्