एपीएफ र पुलिसको उत्कृष्ट सुरुआत, प्रतिस्पर्धीहरू स्तब्ध

nepal news portal

काठमाडौं - दशरथ रंगशालाको कभर्डहलमा बिहीबारबाट सुरु भएको रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेका छन्।

महिलातर्फको प्रतिस्पर्धामा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पाखा लगायो। पहिलो सेट २५-२३ ले जितेको एपीएफ दोस्रो सेटमा १७-२५ ले पराजित भए पनि त्यसपछिका दुवै सेट २५-१९ को समान अन्तरले जितेर खेल आफ्नो पक्षमा पार्‍यो।

अर्कोतर्फ, साविक विजेता नेपाल पुलिस क्लबले बुटवलको एभरेस्ट भलिबल क्लबविरुद्ध सोझो सेटको जीत हात पारेको छ।

रोमाञ्चक बनेको पहिलो सेट २६-२४ ले जितेको पुलिसले त्यसपछिका दुई सेट २५-१६ र २५-१७ ले जित्दै आफ्नो बलियो उपस्थिति देखायो।

नेपाल पुलिस क्लबकी उषा भण्डारी उत्कृष्ट प्रदर्शन गर्दै खेलको प्लेयर अफ दि म्याच बनेकी छन्।

लिगमा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीहरू उपाधिका लागि भिडिरहेका छन्।