काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ ले विद्यार्थीलाई दिँदै आएको भाडा छुट नदिने विषयमा स्पष्टिकरणसहित सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। महासंघले यातायात व्यवस्था विभाग, मिनभवनलाई पठाएको पत्रमार्फत हाल देखिएको अन्योल र व्यवहारिक समस्याबारे जानकारी गराउँदै आवश्यक छलफलको माग गरेको हो।
महासंघका अनुसार २०७५/११/३० को निर्णयलाई आधार मानी विद्यार्थीलाई सार्वजनिक सवारी साधनमा छुट दिने व्यवस्था गरिएको थियो। उक्त निर्णयअनुसार वार्षिक कर, रुट परमिट तथा जाँचपासमा ६० प्रतिशतसम्म छुट दिने सहमति भए पनि पछिल्लो समय संघीय संरचना कार्यान्वयनसँगै प्रदेशगत नीतिहरू फरक–फरक बन्न थालेपछि समस्या उत्पन्न भएको जनाएको छ।

पत्रमा उल्लेख भएअनुसार केही प्रदेशमा विद्यार्थीलाई ४५ प्रतिशतसम्म छुट दिइँदै आएको भए पनि अन्य प्रदेशमा यस्तो सुविधा हटाइएको वा अस्पष्ट रहेको स्थिति छ। प्रदेश सरकारहरूबीच एकरूपता नहुँदा यातायात व्यवसायीहरू अन्योलमा परेको महासंघको भनाइ छ। साथै, संघीय र प्रदेश सरकारबाट कर, रुट परमिट तथा जाँचपासमा दिइँदै आएको ६० प्रतिशत छुट व्यवहारमा कार्यान्वयन नभएको गुनासो पनि गरिएको छ।
महासंघले कानुनी रूपमा स्पष्ट व्यवस्था नहुँदा विद्यार्थी छुट कार्यान्वयनमा समस्या आएको उल्लेख गर्दै यस विषयमा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग तथा सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी समाधान खोज्न आग्रह गरेको छ। हालको अवस्थालाई मध्यनजर गर्दै व्यवसायीहरूले विद्यार्थी छुट दिन नसकेको अवस्था सिर्जना भएको समेत पत्रमा जनाइएको छ।
महासंघले विद्यार्थी, व्यवसायी र सरकार सबै पक्षलाई न्यायोचित हुने गरी स्पष्ट नीति निर्माण गर्न माग गर्दै छिटो निर्णय लिन आग्रह गरेको छ।