काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुकुम्बासी बस्ती हटाउने तयारीलाई तीव्र बनाउँदै काठमाडौं महानगरपालिकाको नगर प्रहरी बललाई स्ट्यान्डबाई बस्न निर्देशन दिएको छ। उपत्यकाभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका बस्तीहरू हटाउने योजनाअनुसार यस्तो तयारी अघि बढाइएको हो।
नगर प्रहरी बलका प्रमुख एसपी विष्णु जोशीका अनुसार बिहीबार प्रभावित क्षेत्रमा माइकिङ गरी स्थानीयलाई स्वेच्छाले स्थान खाली गर्न आग्रह गरिएको छ। “आज माइकिङमार्फत आफैँ खाली गरिदिन अनुरोध गरेका छौँ। सीडीओ कार्यालयबाट स्ट्यान्डबाई बस्न निर्देशन आएको छ, सोही अनुसार हामी तयारी अवस्थामा छौँ,” उनले बताए। उनका अनुसार बस्ती हटाउने कार्य शुक्रबार, शनिबार वा आइतबारमध्ये कुनै दिन हुन सक्ने भए पनि अन्तिम मिति अझै तय भइसकेको छैन।
यसैबीच, सुकुम्बासी बस्तीमा बसोबास गर्नेहरू भने राज्यले बल प्रयोग गरेर हटाउन खोजे प्रतिकार गर्ने चेतावनी दिएका छन्। उनीहरूले वैकल्पिक व्यवस्था बिना हटाउन नहुने अडान राख्दै विरोधका कार्यक्रमसमेत गर्ने संकेत दिएका छन्।
बिहीबार दिउँसो प्रमुख जिल्ला अधिकारीको कार्यालयमा सम्बन्धित निकायबीच बैठक बसेको थियो। बैठकमा सुरक्षा अवस्था, सम्भावित विवाद र व्यवस्थापनका उपायबारे छलफल भएको जनाइएको छ।