फेसबुकको ‘नेप्से ट्रेडिङ’ प्रलोभन, तीन बैंक खाताबाट १५ लाख ६० हजार चोरी

insight dainik

काठमाडौं । शेयर बजारसम्बन्धी जानकारी दिने भन्दै फेसबुकमार्फत पठाइएको शंकास्पद लिंक खोल्दा जापानमा कमाएको १५ लाख ६० हजार रुपैयाँ गुमेको घटना सार्वजनिक भएको छ। काठमाडौँमा बस्दै आएका एक व्यक्तिको तीनवटा बैंक खाताबाट अनधिकृत रूपमा रकम स्थानान्तरण भएपछि प्रहरीले अनुसन्धान गरेको हो।

पीडितले फेसबुकमा ‘Start Learning NEPSE Trading Today’ भन्ने सन्देशसहित आएको लिंकमा क्लिक गरेका थिए। उनले शेयर बजार सिक्ने उद्देश्यले ‘nepseexpert.xyz’ नामक वेबसाइट खोलेपछि उनको कम्प्युटरमा अनधिकृत पहुँच स्थापित भएको अनुसन्धानबाट खुलेको छ।

ठगहरूले पीडितको ConnectIPS को युजरनेम, पासवर्ड तथा One-Time Password (OTP) लगायतका संवेदनशील विवरण हात पारेको प्रहरीले जनाएको छ। त्यसपछि उनको बैंक खातामा पहुँच बनाएर विभिन्न खातामा रकम पठाइएको थियो।

अनुसन्धानअनुसार सिद्धार्थ बैंकबाट १ लाख रुपैयाँ उज्ज्वल बस्नेतको नाममा रहेको NIC Asia Bank खातामा पठाइएको थियो। त्यस्तै, माछापुच्छ्रे बैंकबाट १४ लाख रुपैयाँ सिसाङ्ग सदेन लिम्बुको नाममा रहेको Nabil Bank खातामा स्थानान्तरण गरिएको थियो। थप ६० हजार रुपैयाँ भने अमित विष्टको सिद्धार्थ बैंक खातामा पटक–पटक पठाइएको थियो।

प्रहरीका अनुसार अमितलाई Telegram मार्फत ‘अनलाइन जब’को प्रलोभन देखाएर उनको बैंक खाता प्रयोग गरिएको थियो। कारोबारबापत कमिसन पाउने आशामा उनले आफ्नो नागरिकताको फोटो र बैंक खातासम्बन्धी विवरण उपलब्ध गराएका थिए। अनुसन्धानमा उनलाई ‘मनी म्युल’ अर्थात् आपराधिक रकम ओसारपसार गर्न प्रयोग गरिएको माध्यमका रूपमा प्रयोग गरिएको देखिएको छ। उनले आफ्नो खातामा आएको ६० हजार रुपैयाँ फिर्ता गरेपछि उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुख्य अभियुक्त उज्ज्वल बस्नेत र सिसाङ्ग सदेन लिम्बुविरुद्ध ठगीसम्बन्धी मुद्दा दायर गरेको छ। उनीहरू फरार रहेकाले अदालतबाट पक्राउ पुर्जी जारी गरी कानुनी प्रक्रिया अघि बढाउन माग गरिएको छ।

सरकारी वकिलले दुवै अभियुक्तविरुद्ध सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको माग गरेको छ। साथै, पीडितलाई १५ लाख रुपैयाँ बिगो भराउन र पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउनसमेत माग गरिएको छ।

यस घटनाले सामाजिक सञ्जालमा शेयर बजार, लगानी वा रोजगारीको नाममा आउने अपरिचित लिंकमा क्लिक गर्दा बैंकिङ विवरण तथा OTP चोरी हुन सक्ने जोखिमलाई पुनः उजागर गरेको छ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्