चीन–नेपाल सीमामा नयाँ बनेको विशाल ताल फुट्ने जोखिम, तीन दिनभित्र ठूलो बाढीको चेतावनी

insight dainik

काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रमा पहिरोका कारण बनेको ठूलो जलाशय फुट्न सक्ने जोखिम बढेपछि चीनले सम्भावित बाढीप्रति उच्च सतर्कता अपनाएको छ। चीनको जलस्रोत मन्त्रालयले नेपालमा छोछेन खोला र पुरेपु छाङ्पो नदीको संगम नजिकै ठूलो ‘ब्यारियर लेक’ बनेको जानकारी दिएको छ।

चिनियाँ पक्षका अनुसार बिहीबार बिहानसम्म उक्त जलाशयमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ। जलाशयबाट पानी बाहिरिनसमेत सुरु भएकाले अवस्था निरन्तर निगरानीमा राखिएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले आगामी तीन दिनमा जलाशयमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुनसक्ने अनुमान गरेको छ। पानीको मात्रा बढ्दै जाँदा प्राकृतिक बाँध कमजोर भएर अचानक फुटेमा ठूलो परिमाणमा पानी तल्लो क्षेत्रमा बग्न सक्ने जोखिम रहेको जनाइएको छ।

चीनको जलस्रोत मन्त्रालयले सम्भावित बाँध फुट्ने अवस्थालाई ध्यानमा राखेर बाढीको प्रभावबारे विभिन्न सिमुलेसन र जोखिम विश्लेषण गरिरहेको जनाएको छ। सम्भावित विपद्का लागि उद्धार तथा राहत सहयोगसमेत तयारी अवस्थामा राखिएको बताइएको छ।

यसअघि नेपालतर्फबाट गएको विनाशकारी पहिरो तथा बाढीले तिब्बत स्वायत्त क्षेत्रको चिलुङ बन्दरगाह (Gyirong Port) आसपासको क्षेत्रमा समेत ठूलो क्षति पुर्‍याएको चिनियाँ पक्षले जनाएको छ। प्रभावित क्षेत्रमा उद्धारकर्ता, चिनियाँ जनमुक्ति सेना, इन्जिनियरिङ टोली, दूरसञ्चार कम्पनी तथा राहत संस्थाहरू परिचालन भएका छन्।

निरन्तर वर्षा, कठिन भौगोलिक अवस्था र थप प्राकृतिक विपद्को जोखिमबीच उद्धार कार्य जारी रहेको बताइएको छ। बिहीबार बिहानसम्म तीन जनाको मृत्यु पुष्टि, दुई जनाको उद्धार भएको तथा ५५८ जना अझै सम्पर्कविहीन रहेको चिनियाँ पक्षको विवरण छ। सम्पर्कविहीनमध्ये २६० जना विदेशी नागरिक रहेको जनाइएको छ।

जलाशय फुटेमा त्यसबाट प्रभावित हुनसक्ने नदी तथा तल्लो तटीय क्षेत्रमा जोखिम अझ बढ्न सक्ने भएकाले नेपाल र चीन दुवैतर्फबाट निरन्तर निगरानी र पूर्वतयारी आवश्यक देखिएको छ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्