काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीको मुख्य कारण हिमनदीको ठूलो हिस्सा भत्किनु रहेको वैज्ञानिकहरूको प्रारम्भिक अध्ययनले देखाएको छ । सुरुवातमा भूकम्प वा पहिरोका कारण बाढी आएको अनुमान गरिए पनि पछिल्लो अध्ययनले लाङटाङ लिरुङ आसपासको हिमनदी भत्किएर आएको हिम–चट्टानको बहावले विपत्ति निम्त्याएको देखाएको हो ।
अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस) को तथ्यांकअनुसार हिमनदी भत्किँदा उत्पन्न कम्पन ५.२ म्याग्निच्युडको भूकम्पसरह शक्तिशाली थियो । युनिभर्सिटी अफ डन्डीका हिमनदी विशेषज्ञ डा. साइमन कुकको टोलीले नेपालतर्फ पर्ने लाङटाङ लिरुङ नजिकै हिमनदीको तल्लो भाग भत्किएको पहिचान गरेको छ । उक्त स्थान बाढी प्रभावित क्षेत्रभन्दा करिब १५ किलोमिटर पश्चिममा रहेको बताइएको छ ।
हिमनदीबाट खसेको ठूलो परिमाणको हिउँ, बरफ र चट्टान लेन्दे खोलामा मिसिएपछि भोटेकोशी नदीको बहाव एकाएक बढेको थियो । त्यससँगै नदीमा पानीसँगै हिलो, ढुंगा र लेदो मिसिएर तीव्र गतिमा तल्लो तटीय क्षेत्रतर्फ बगेको थियो ।
इसिमोडको विश्लेषणले पनि उच्च हिमाली क्षेत्रबाट आइस–रक एभालञ्च खसेको संकेत गरेको छ । बाढीका कारण केही स्थानमा ३० मिनेटमै नदीको जलस्तर ७ देखि ९ मिटरसम्म बढेको जनाइएको छ ।
वैज्ञानिकहरूले यो घटनालाई हिमालयमा बढ्दो जलवायु जोखिमसँग जोडेर हेरेका छन् । तापक्रम वृद्धिका कारण हिमनदी पग्लिनुका साथै पहाडलाई थामेर राख्ने पर्माफ्रोस्ट कमजोर बन्दै जाँदा हिमपहिरो, हिमनदी भत्किने र आकस्मिक बाढीको जोखिम बढिरहेको उनीहरूको भनाइ छ ।
यसै वर्ष इसिमोडले सार्वजनिक गरेको अध्ययनअनुसार हिन्दुकुश हिमालयका हिमनदीले सन् २००० को तुलनामा अहिले दोब्बर गतिमा बरफ गुमाइरहेका छन् । वैज्ञानिकहरूका अनुसार रसुवाको पछिल्लो विपत्तिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव र त्यसबाट उत्पन्न हुन सक्ने आकस्मिक विपत्तिप्रति पूर्वतयारी अझ बलियो बनाउनुपर्ने देखाएको छ ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्