साउनमै २ खर्ब १५ अर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

insight dainik

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवातमै नेपालमा रेमिट्यान्स आप्रवाहले गति लिएको छ। आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै २ खर्ब १५ अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा यस वर्षको पहिलो महिनामा रेमिट्यान्स आप्रवाह २१.२ प्रतिशतले बढेको हो। गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २९.९ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा गणना गर्दा पनि रेमिट्यान्स आप्रवाह बढेको देखिन्छ। साउनमा १ अर्ब ४० करोड अमेरिकी डलर बराबरको रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.२ प्रतिशत बढी हो। अघिल्लो वर्ष डलरमा रेमिट्यान्स आप्रवाह २५ प्रतिशतले बढेको थियो।

रेमिट्यान्ससँगै खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफरमा समेत उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको साउनमा १ अर्ब ९३ करोड ८५ लाख रुपैयाँ रहेको खुद द्वितीय आय यस वर्षको साउनमा बढेर २ खर्ब २९ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।

तर, रेमिट्यान्स बढेको भए पनि वैदेशिक रोजगारीका लागि पहिलोपटक श्रम स्वीकृति लिने नेपालीको संख्या भने घटेको छ। साउनमा नयाँ संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या ४२ हजार ६९३ रहेको छ। अघिल्लो वर्षको साउनमा यस्तो संख्या ४४ हजार ४६६ थियो।

यसैबीच, पुनः श्रम स्वीकृति लिनेको संख्या भने बढेको छ। साउनमा २७ हजार ७४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। गत वर्षको सोही महिनामा यस्तो संख्या २३ हजार ६४४ थियो।

यसले नयाँ श्रम स्वीकृति केही घटे पनि विदेशमा रहेका नेपालीबाट नेपालतर्फ आउने आम्दानीको प्रवाह पहिलो महिनामै बलियो रहेको देखाएको छ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्