नेपाल प्रहरीमा ३३४ पदमा रोजगारीको अवसर, असोज १२ देखि आवेदन खुला

insight dainik

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा ३३४ जनाका लागि नयाँ भर्ना प्रक्रिया अघि बढाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानव स्रोत विकास विभागको वृत्ति विकास महाशाखाले रिक्त पदमा पदपूर्तिका लागि आवेदन आह्वान गरेको हो।

प्रहरीले जारी गरेको सूचनाअनुसार जनपद प्रहरी समूहअन्तर्गत प्रहरी सहायक निरीक्षक (साधारण प्रहरी) पदमा २११ जनाका लागि आवेदन माग गरिएको छ। त्यस्तै, प्रहरी कार्यालय सहयोगीअन्तर्गत भान्छे पदमा ८३, हजाम पदमा १५ र कुचीकार पदमा २५ जना माग गरिएको छ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल प्रहरीको आधिकारिक अनलाइन आवेदन प्रणालीमार्फत दिन सकिने व्यवस्था गरिएको छ।

प्रहरी कार्यालय सहयोगीअन्तर्गतका पदमा भने तोकिएको अवधिभित्र कार्यालय समयमै आवेदन बुझाउन सकिने सूचनामा उल्लेख छ।

नेपाल प्रहरीले रिक्त पदमा खुला प्रतिस्पर्धामार्फत जनशक्ति छनोट गर्न लागेको हो। आवेदन दिनुअघि उम्मेदवारले सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता, उमेर, शारीरिक तथा अन्य आवश्यक मापदण्ड पूरा गरेको हुनुपर्नेछ।

प्रहरी सेवामा प्रवेश गर्न इच्छुक उम्मेदवारले आवेदन प्रक्रिया, आवश्यक कागजात, परीक्षा तथा छनोटसम्बन्धी विस्तृत जानकारी नेपाल प्रहरीको आधिकारिक वेबसाइट र भर्तीसम्बन्धी अनलाइन आवेदन प्रणालीमा प्रकाशित सूचनाबाट हेर्न सक्नेछन्।

नयाँ भर्नासम्बन्धी सूचनाले प्रहरी सेवामा प्रवेश गर्न चाहने युवाका लागि रोजगारीको अवसर सिर्जना गरेको छ। आवेदनको अन्तिम मिति कात्तिक १० गते रहेकाले इच्छुक उम्मेदवारले तोकिएको समयभित्रै आवेदन प्रक्रिया पूरा गर्नुपर्नेछ।

Application Form यता छ ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्