अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन प्रमुख सञ्चारमाध्यमलाई ह्वाइटहाउसमा प्रवेश गर्न रोक लगाउने घोषणा गरेका छन्। ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिकोमाथि यस्तो प्रतिबन्ध लगाउने घोषणा सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत गरेका हुन्।
शुक्रबार गरिएको घोषणामा ट्रम्पले ती सञ्चारमाध्यमले आफ्नो प्रशासनबारे निरन्तर ‘झुटा समाचार’ प्रकाशित गरेको आरोप लगाए। उनले सञ्चारमाध्यमहरूले अमेरिकी राष्ट्रपति, आफ्नो प्रशासन तथा अमेरिकासम्बन्धी समाचारमा आफूलाई मन नपर्ने र तथ्यहीन सामग्री प्रकाशन गरेको दाबी गरेका छन्।
ट्रम्पले प्रतिबन्ध तत्काल लागू हुने बताएका छन्। साथै, आगामी दिनमा अन्य सञ्चारमाध्यमलाई समेत ह्वाइटहाउस प्रवेशमा रोक लगाउन सकिने संकेत गरेका छन्। उनले पत्रकारहरूसँग कुराकानी गर्दै न्यूयोर्क टाइम्स र वासिङ्टन पोस्टलाई पनि ‘फेक न्युज’ सञ्चारमाध्यमको रूपमा उल्लेख गरेका थिए, तर ती दुई संस्थामाथि तत्काल प्रतिबन्ध लगाउने घोषणा भने गरेनन्।
तर प्रतिबन्धको व्यावहारिक कार्यान्वयनबारे तत्कालै स्पष्टता देखिएको थिएन। एक रिपोर्टअनुसार घोषणा भएपछि पनि सीएनएनका पत्रकारहरू ह्वाइटहाउसको आफ्नो कार्यक्षेत्रमा रहेका थिए। प्रतिबन्ध ह्वाइटहाउसका सबै क्षेत्र, पत्रकार सम्मेलन वा निश्चित कार्यक्रममा मात्रै लागू हुन्छ भन्ने विषयसमेत तत्काल स्पष्ट थिएन।
सीएनएनले ट्रम्पको कदमको विरोध गर्दै ह्वाइटहाउसमा स्वतन्त्र रूपमा समाचार संकलन गर्ने संवैधानिक अधिकार रहेको जनाएको छ। पोलिटिकोले पनि ह्वाइटहाउसको समाचार निष्पक्ष रूपमा निरन्तर सम्प्रेषण गर्ने र आफ्नो संवैधानिक अधिकारको रक्षा गर्ने बताएको छ। एमएस नाउले भने तत्काल प्रतिक्रिया दिएको थिएन।
अमेरिकी संविधानको पहिलो संशोधनसँग सम्बन्धित प्रेस स्वतन्त्रताको विषयका कारण ट्रम्पको घोषणाले कानुनी चुनौती सामना गर्न सक्ने अमेरिकी सञ्चार तथा कानुनसम्बन्धी संस्थाहरूले बताएका छन्। विगतमा पनि ह्वाइटहाउसले पत्रकारको पहुँचमा लगाएको प्रतिबन्ध अदालतमा चुनौती परेको थियो।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्