चीनबाट नेपाल आउँदै गरेका ५०० भन्दा बढी कन्टेनर भोटेकोशी बाढीमा बेपत्ता, दशैं–तिहारको आपूर्तिमा दबाब र अर्बौंको व्यापारिक क्षतिको जोखिम

insight dainik

काठमाडौं । भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीले रसुवागढी नाका हुँदै चीनबाट नेपाल भित्रिन लागेका ५०० भन्दा बढी मालवाहक कन्टेनर बगाएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। बाढीका कारण रसुवागढी नाका अनिश्चितकालका लागि ठप्प भएपछि नेपाल–चीन व्यापारमा ठूलो असर परेको छ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार बाढीले नाकामा सामान बोकेर राखिएका ५०० भन्दा बढी कन्टेनर बगाएको हो। ती कन्टेनरमा दैनिक उपभोग्य वस्तुदेखि इलेक्ट्रोनिक्स, विद्युतीय सवारीसाधन (ईभी) लगायतका विभिन्न सामग्री रहेको बताइएको छ।

पराजुलीले बाढीबाट भएको व्यापारिक क्षति अर्बौं रुपैयाँ पुग्न सक्ने बताएका छन्। उनका अनुसार मानवीय क्षति सबैभन्दा गम्भीर विषय भए पनि व्यापारिक दृष्टिले पनि घटनाले ठूलो असर पारेको छ।

रसुवागढी नेपालमा चीनबाट सामान आयात हुने प्रमुख नाकामध्ये सबैभन्दा महत्वपूर्ण नाका हो। यही नाकाबाट लत्ताकपडा, फलफूल, विद्युतीय उपकरण, सवारीसाधन तथा अन्य उपभोग्य सामग्री नेपाल भित्रिने गर्छन्। नाका लामो समय बन्द रहेमा बजारमा सामानको आपूर्ति घट्न सक्ने र त्यसको प्रत्यक्ष प्रभाव मूल्यमा पर्न सक्ने व्यवसायीहरूको भनाइ छ।

विशेषगरी दशैं–तिहार नजिकिँदै गर्दा नाका बन्द हुनु व्यवसायीका लागि थप चिन्ताको विषय बनेको छ। चाडपर्व लक्षित सामग्री ठूलो परिमाणमा चीनबाट आयात हुने भएकाले आपूर्ति शृंखला प्रभावित हुँदा बजारमा अभाव र मूल्यवृद्धिको दबाब सिर्जना हुन सक्ने संघले जनाएको छ।

घटनाबारे संघका प्रतिनिधिले गृहमन्त्री तथा गृह मन्त्रालयका उच्च अधिकारीसँग छलफलसमेत गरेका छन्। मन्त्रालयले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ। बाढीपछि सीमाक्षेत्रको अवस्था अझै जटिल रहेकाले बेपत्ता कन्टेनर तथा सामानको वास्तविक क्षतिको विवरण संकलन हुन समय लाग्ने देखिएको छ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्