उपत्यकामा ग्यासको हाहाकार, बाहिर उद्योगमा धमाधम भरिँदै सिलिन्डर

insight dainik

कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा एलपी ग्यास आपूर्ति प्रभावित भएको छ। राजधानीमा ग्यासको अभाव बढ्दै जाँदा उपत्यका बाहिरका उद्योगबाट ग्यास भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउने तयारी गरिएको छ।

चितवन । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि त्यसको प्रत्यक्ष असर काठमाडौं उपत्यकाको एलपी ग्यास आपूर्तिमा परेको छ। ग्यास बोकेका बुलेट कृष्णभीर हुँदै राजधानी प्रवेश गर्न नसक्ने भएपछि उपत्यकामा रहेका उद्योगले बाहिरी जिल्लाका उद्योगबाट ग्यास भरेर राजधानी ल्याउने वैकल्पिक व्यवस्था थालेका छन्।

नेपाल आयल निगमले उपत्यका तथा आसपासका ग्यास उद्योगलाई राजधानी बाहिरबाट ग्यास भर्न अनुमति दिएपछि बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी पूर्वका उद्योगसँग समन्वय सुरु गरिएको नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ।

सङ्घका अध्यक्ष देवान चन्दका अनुसार उपत्यका र आसपासका क्षेत्रमा मात्रै देशको कुल एलपी ग्यास खपतको ४० प्रतिशतभन्दा बढी माग रहेको छ। त्यसैले नियमित आपूर्ति अवरुद्ध हुँदा राजधानीमा अभाव चर्किन सक्ने जोखिम छ।

तर उद्योगीहरूले वैकल्पिक व्यवस्थाबाट आपूर्ति निरन्तर राख्ने प्रयास भइरहेको बताएका छन्। बाबा ग्यासका सञ्चालक तथा सङ्घका सदस्य विमल कालाखेतीका अनुसार कृष्णभीरको सडक नखुलेसम्म बाहिरी जिल्लाका उद्योगमा ग्यास भरेर वैकल्पिक सडकबाट काठमाडौं ल्याइनेछ।

यसका लागि विभिन्न उद्योगले बाहिरी उद्योगसँग सहकार्यसमेत सुरु गरिसकेका छन्। श्री ग्यासले बाबा, श्रीकृष्णले साइबाबा, श्रीरामले जानकी तथा नेपाल ग्यासले नेपाल गण्डकी, एभरेस्ट र सुगमले साहारा उद्योगसँग समन्वय गरी ग्यास भर्न थालेका छन्।

राजधानीमा उपभोक्ताबीच ग्यास नपाइने त्रास बढिरहेका बेला उद्योगीहरूले भने अनावश्यक रूपमा जगेडा नराख्न आग्रह गरेका छन्। बाहिरी जिल्लाबाट ग्यास भर्ने काम सुरु भइसकेकाले आपूर्ति व्यवस्थापन क्रमशः सहज हुने उनीहरूको दाबी छ।

यद्यपि कृष्णभीरको सडक अवरोध लामो समय कायम रहेमा ढुवानी लागत, यात्रा अवधि र आपूर्ति व्यवस्थापनमा थप दबाब पर्न सक्ने देखिएको छ। अहिले राजधानीमा देखिएको अभाव तत्कालीन सडक अवरोधसँग प्रत्यक्ष जोडिएको भन्दै उद्योगीहरूले वैकल्पिक रुटबाट आपूर्ति कायम राख्ने प्रयास गरिरहेका छन्।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्