काठमाडौं । देशमा अहिले ग्याँसको अनौठो लीला चलिरहेको छ। सरकार भन्छ—ग्याँस पर्याप्त छ। आपूर्ति मन्त्री दैनिक यति हजार सिलिन्डर बजार पठाइयो भनेर हिसाब सुनाउँछन्। तर आम जनता भने त्यही ग्याँस खोज्दै बिहानैदेखि पसलको लाइनमा उभिन्छन् र साँझ खाली सिलिन्डर बोकेर घर फर्किन्छन्।
ग्याँसको सबैभन्दा भरपर्दो स्रोत अहिले पसल होइन, फेसबुक बनेको छ। फेसबुकमा भिडियो आउँछ—‘यहाँ ग्याँस आयो।’ उपभोक्ता भिडियो हेरेर सिलिन्डर बोकी दौडिन्छन्। पसल पुग्दा उत्तर आउँछ—‘भर्खरै सकियो।’ अर्थात् भिडियोमा ग्याँस देखिन्छ, वास्तविकतामा भने ग्याँस लापता!
अर्कोतर्फ सर्वसाधारण एउटा सिलिन्डरका लागि घण्टौँ लाइनमा बसिरहेका बेला ग्याँस बोकेका गाडीका गाडी उद्योग, होटल तथा व्यावसायिक क्षेत्रमा छिरेको दृश्य देखिन्छ। घरको चुलो बाल्न ग्याँस नपाउने जनता प्रश्न गर्छन्—‘हाम्रो सिलिन्डरको भाग्य होटलतिरै लेखिएको रहेछ कि क्या हो?’
मन्त्री बिहान निर्णय सुनाउँछन्—‘ग्याँस सहज बनाउँछौँ।’ दिउँसो अर्को अभिव्यक्ति आउँछ—‘उद्योगीहरूले मानेनन्।’ जनता फेरि सोच्न थाल्छन्—सरकारले निर्णय गर्छ कि उद्योगीले?
मूल्य सरकार तोक्छ, सिलिन्डर उद्योगीले दिन्छन्, लाइन जनता बस्छन् र अन्त्यमा ग्याँस भने कतै अर्कैतिर पुग्छ। यस्तो आपूर्ति व्यवस्थालाई हेर्दा लाग्छ—नेपालमा ग्याँसको होइन, ग्याँस खोज्ने नागरिकको उत्पादन बढेको छ।
अभाव यति गम्भीर बनेको छ कि ग्याँसको लाइन केवल भान्साको समस्या रहेन। लामो प्रतीक्षा, निराशा र तनावले नागरिकलाई चरम पीडासम्म पुर्याएका घटनासमेत सार्वजनिक भएका छन्।
सरकारसँग जनता अब एउटा मात्रै अनुरोध गरिरहेका छन्—‘ग्याँस कहाँ छ भनेर भाषण होइन, सिलिन्डर देखाइदिनुस्।’
किनकि अहिले अवस्था यस्तो छ—सरकारको तथ्यांकमा ग्याँस भरिभराउ, फेसबुकको भिडियोमा ग्याँस झिलिमिली, तर जनताको भान्सामा चुलोचाहिँ मौन!
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्