बागलुङ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालको प्रसिद्ध पर्यटकीय क्षेत्र ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति भएपछि स्थानीयवासी तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन् । वर्षौंदेखि हिलाम्य, साँघुरो र जोखिमपूर्ण रहेको सडक सुधार भएसँगै अब पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ ।
गण्डकी प्रदेश सरकार र निसीखोला गाउँपालिकाको संयुक्त लगानीमा चालु आर्थिक वर्षभित्र ६ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । करिब ७२ लाख रुपैयाँ लागतमा सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने तथा केही स्थानमा ग्राभेलिङ गर्ने काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
ढोरपाटन सिकार आरक्ष नजिक रहेको निसेलढोर पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । उच्च हिमाली दृश्य, हरियाली घाँसे मैदान, मनोरम हिमश्रृंखला तथा ग्रामीण जीवनशैलीले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । विशेषगरी पदयात्रा र प्रकृतिप्रेमी पर्यटकको रोजाइमा यो क्षेत्र पर्न थालेको स्थानीयको भनाइ छ ।
यसअघि सडक हिलाम्य र भासिने समस्याका कारण वर्षायाममा यातायात सञ्चालन पूर्ण रूपमा प्रभावित हुने गरेको थियो । सडक अवरुद्ध हुने डरले स्थानीयले खाद्यान्न र दैनिक उपभोग्य सामग्री पहिल्यै भण्डारण गर्नुपर्ने बाध्यता थियो । अहिले सडक सुधार भएपछि बाह्रै महिना सहज रूपमा सवारी सञ्चालन हुने विश्वास गरिएको छ ।
स्थानीय कृषक तथा व्यवसायीका अनुसार सडक सहज भएसँगै आलु, स्याउ, सिमी लगायत हिमाली कृषि उत्पादन बजारसम्म पुर्याउन सहज हुने भएको छ । साथै होमस्टे, ग्रामीण पर्यटन तथा साहसिक पर्यटन विस्तारमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीय पर्यटन व्यवसायीहरूले सडक स्तरोन्नतिले ढोरपाटन–निसेलढोर क्षेत्रलाई थप आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् । सडक पहुँच सहज भएसँगै अब विदेशी पर्यटकसमेत आकर्षित गर्न सकिने आधार तयार हुँदै गएको उनीहरूको भनाइ छ ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्