जनकपुरधामलाई विवाह पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाइने

insight dainik

जनकपुरधाम, जेठ १६ — संघीय सरकारले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जनकपुरधामलाई विवाह पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले माता सीताको जन्मभूमि तथा मधेश प्रदेशको राजधानी जनकपुरधामलाई विवाह गन्तव्यका रूपमा प्रवर्द्धन गरिने जानकारी दिएका हुन्।

शुक्रबार संघीय संसदमा प्रस्तुत बजेटमार्फत सरकारले जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्भावनालाई थप विस्तार गर्ने उद्देश्यसहित विभिन्न पूर्वाधार विकास कार्यक्रम अघि सारेको जनाएको छ। बजेटमा रामजानकी पथ तथा रामजानकी परिक्रमा सडक स्तरोन्नतिका लागि आवश्यक रकम विनियोजन गरिएको उल्लेख गरिएको छ।

त्यसैगरी मधेश प्रदेशको आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै हुलाकी राजमार्ग, रेल्वे पूर्वाधार तथा पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति गर्ने योजना पनि बजेटमा समेटिएको छ। शिक्षा, स्वास्थ्य, खेलकुद तथा पोषण कार्यक्रमका लागि समेत विशेष बजेट छुट्याइएको सरकारले जनाएको छ।

सरकारको यस घोषणाप्रति स्थानीय व्यवसायी तथा सरोकारवालाले सकारात्मक प्रतिक्रिया दिएका छन्। जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले विवाह गन्तव्यका रूपमा जनकपुरधामको विकासले स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे। उनले यसबाट होटल, यातायात, हस्तकला, धार्मिक सेवा तथा अन्य पर्यटनसँग सम्बन्धित क्षेत्रको व्यापार विस्तार हुने र नयाँ रोजगारीका अवसर सिर्जना हुने बताए।

धार्मिक विश्वासअनुसार भगवान राम र माता सीताको विवाह जनकपुरमै सम्पन्न भएको मान्यता रहेकाले जनकपुरधामलाई विवाह पर्यटनको केन्द्रका रूपमा विकास गर्ने अवधारणा विशेष महत्वको रहेको विज्ञहरू बताउँछन्। सरकारको यो योजनाले धार्मिक पर्यटनलाई थप प्रवर्द्धन गर्दै जनकपुरधामको आर्थिक गतिविधि विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्