विश्वकप २०२६ भव्य उद्घाटन: शाकिरा, एन्ड्रिया बोचेली र टायला चम्किए, मेक्सिको–दक्षिण अफ्रिका खेलबाट प्रतियोगिता सुरु

insight dainik

मेक्सिको सिटी, असार २८ - फिफा विश्वकप २०२६ को भव्य उद्घाटन समारोह बिहीबार मेक्सिको सिटीस्थित मेक्सिको सिटी स्टेडियम (पूर्व एज्टेका स्टेडियम) मा सम्पन्न भएको छ। उद्घाटन समारोहसँगै आयोजक राष्ट्र मेक्सिको र दक्षिण अफ्रिकाबीचको समूह ‘ए’ को पहिलो खेलबाट विश्व फुटबलको महाकुम्भ औपचारिक रूपमा सुरु भएको हो।

समारोह राष्ट्रिय गान तथा सांगीतिक प्रस्तुतिबाट सुरु भएको थियो। इटालीका चर्चित गायक एन्ड्रिया बोचेली र दक्षिण कोरियाली–अमेरिकी गायिका इजेले विश्वकपको आधिकारिक गान ‘डीएनए (DNA)’ प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध बनाए। उक्त गीतमा डेभिड गेटा र मेगन थी स्टालियनको पनि सहभागिता रहे पनि उनीहरू समारोहमा उपस्थित थिएनन्।

त्यसपछि कोलम्बियन सुपरस्टार शाकिरा र नाइजेरियाली कलाकार बर्ना ब्वायले ‘डाइ डाइ’ गीत प्रस्तुत गर्दै रंगशालालाई सांगीतिक उत्साहले भरिदिए। दक्षिण अफ्रिकाकी चर्चित गायिका टायलाले दक्षिण अफ्रिकाको राष्ट्रिय गान गाएकी थिइन्।

उद्घाटन समारोहमा मेक्सिकन कलाकार फ्हेर ओल्भेरा, एलियास मेजिया अवान्ते तथा भेनेजुएली गायक ड्यानी ओसनसहित विभिन्न कलाकारले प्रस्तुति दिएका थिए। रंगीन नृत्य, सांस्कृतिक झाँकी र विशेष दृश्य प्रभावले समारोहलाई थप आकर्षक बनाएको थियो।

समारोहमा फिफा अध्यक्ष गिआन्नी इन्फान्टिनो, फिफा उपाध्यक्ष भिक्टर मोन्टाग्लियानी, मेक्सिकन फुटबल महासंघका अध्यक्ष मिकेल एरियोला तथा हलिउड अभिनेत्री सल्मा हायेक समेत उपस्थित थिए।

उद्घाटन समारोह सम्पन्न भएपछि दुवै टोलीका खेलाडी मैदानमा उत्रिएका थिए। हजारौं समर्थकको उपस्थितिमा सम्पन्न समारोहले विश्वकप २०२६ को रोमाञ्चक यात्राको औपचारिक सुरुआत गरेको छ। आगामी एक महिनासम्म उत्तर अमेरिकाका विभिन्न शहरहरूमा विश्व फुटबलका उत्कृष्ट टोलीहरूबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्