आयोजक राष्ट्र मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै प्रतियोगिताको विजयी सुरुआत गरेको छ। मेक्सिको सिटीस्थित एज्टेका स्टेडियममा सम्पन्न खेल गोलसँगै तीन रातो कार्डका कारण पनि चर्चामा रह्यो।
घरेलु समर्थकको उत्साहपूर्ण साथ पाएको मेक्सिकोले खेलको नवौं मिनेटमै अग्रता बनाएको थियो। मेक्सिकोका फरवार्ड जुलियन क्विनोनेसले सुन्दर गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफभर मेक्सिकोले खेल नियन्त्रणमा राखे पनि थप गोल गर्न सकेन।
दोस्रो हाफको ५०औँ मिनेटमा दक्षिण अफ्रिकाका मिडफिल्डर स्पेफेलो सिथोलेले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। त्यसपछि मेक्सिकोले दबाब बढाउँदै लग्यो र ६७औँ मिनेटमा अनुभवी स्ट्राइकर राउल जिमेनेजले हेडमार्फत गोल गर्दै अग्रता २–० पुर्याए।
खेलको ८३औँ मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वाने पनि रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दक्षिण अफ्रिका नौ खेलाडीमा झर्यो। खेलको इन्जुरी समयमा मेक्सिकोका डिफेन्डर सेजार मोन्टेसले फाउल गरेपछि रातो कार्ड पाए र मेक्सिको पनि १० खेलाडीमा सीमित बन्यो।
यसरी उद्घाटन खेलमा कुल तीन खेलाडीले रातो कार्ड पाए। दक्षिण अफ्रिकाका स्पेफेलो सिथोले र थेम्बा ज्वाने तथा मेक्सिकोका सेजार मोन्टेस मैदानबाट बाहिरिए।
अन्तिम स्कोर २–० रहेको खेलमा मेक्सिको विजेता बनेको छ। जितसँगै मेक्सिकोले समूह ‘ए’ मा महत्वपूर्ण तीन अंक जोडेको छ भने दक्षिण अफ्रिकाले हारबाट आफ्नो विश्वकप यात्रा सुरु गरेको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्