ताप्लेजुङ, जेठ २०८३ ।
ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा निर्माणाधीन विवादास्पद केबलकार परियोजनाको निर्माण कार्य पूर्ण रूपमा स्थगित भएको छ। सरकारको उच्चस्तरीय निर्देशन र स्थानीय आदिवासी समुदायको तीव्र विरोधपछि ३ अर्ब रुपैयाँ लागतको उक्त परियोजनाको काम रोक्न आदेश दिइएको हो।
प्रधानमन्त्री बालेन शाहले आयोजना स्थलमा चलिरहेका सम्पूर्ण निर्माण गतिविधिहरू तत्काल बन्द गर्न र त्यहाँ परिचालन गरिएका सुरक्षा बलहरू फिर्ता गर्न गृह मन्त्रालयमार्फत निर्देशन दिएका हुन्। यसअघि निर्माण सामग्री र आयोजनाको सुरक्षाका लागि सशस्त्र प्रहरी बल तैनाथ गरिएको थियो।
यो परियोजनाको स्थानीय लिम्बू (याक्थुङ) आदिवासी समुदायले लामो समयदेखि विरोध गर्दै आएका छन्। उनीहरूका अनुसार मुक्कुमलुङ क्षेत्र उनीहरूको ऐतिहासिक, सांस्कृतिक तथा मुन्धुमी आस्थाको केन्द्र हो। केबलकार निर्माण गर्दा प्राकृतिका साथै सांस्कृतिक सम्पदामा गम्भीर क्षति पुग्ने भन्दै ‘केबलकार खारेजी संयुक्त संघर्ष समिति’ ले लगातार आन्दोलन गर्दै आएको छ। वातावरणविद्हरूले पनि स्थानीय वनजंगल फँडानी र पर्यावरणमा पर्ने असरबारे चिन्ता व्यक्त गरेका छन्।
अर्कोतर्फ, केबलकार निर्माणको पक्षमा रहेका स्थानीय व्यवसायी, नागरिक समाज र केही युवा संजालहरूले भने आयोजना रोकिँदा जिल्लाको आर्थिक समृद्धि र पर्यटन विकासमा धक्का लाग्ने दाबी गरेका छन्। हालै ताप्लेजुङको सदरमुकाम फुङलिङमा केबलकार निर्माण कार्य पुनः सुचारु गर्न माग गर्दै दबाबमूलक बृहत् र्यालीसमेत प्रदर्शन गरिएको थियो।
सर्वोच्च अदालतले यसअघि निर्माण कार्य अघि बढाउन बाटो खोलेको भए तापनि स्थलगत रूपमा बढ्दै गएको तनाव, सम्भावित झडप र आदिवासी अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड (FPIC) उल्लङ्घन भएको उजुरी परेपछि सरकारले यो कदम चालेको हो। सरकारले विवाद समाधानका लागि सरोकारवाला पक्षहरूसँग वार्ताको तयारी गरिरहेको बुझिएको छ ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्