इसेवाको झुर सेवा : प्याकेज किन्नेहरुले विश्वकप हेर्न नपाएको गुनासो

insight dainik

काठमाडौं । फिफा विश्वकप २०२६ हेर्नका लागि इसेवामार्फत डिगोको प्याकेज खरिद गरेका सेवाग्राहीहरुले रकम काटिए पनि सेवा नपाएको भन्दै व्यापक गुनासो गरेका छन्।

सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले इसेवाबाट विश्वकप हेर्ने प्याकेज खरिद गरेको चार दिनसम्म पनि एक्सेस नपाएको बताएका छन्। ग्राहकहरूका अनुसार खाताबाट रकम तत्काल कटे पनि प्याकेज सक्रिय नभएकाले खेल हेर्नबाट वञ्चित हुनुपरेको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ता बीपी अनमोलले ‘इसेवाबाट डिगोको मोबाइल प्याकेज ५४९ रुपैयाँमा किनेको चार दिन भइसक्यो, पैसा काटियो तर अहिलेसम्म खेल हेर्न पाएको छैन’ भन्दै गुनासो गरेका छन्। उनले समस्या समाधानका लागि इसेवा र डिसहोम दुवैलाई जानकारी गराइसकेको बताए पनि सेवा प्राप्त नभएको उल्लेख गरेका छन्।

यस्तै, अन्य सेवाग्राहीहरूले पनि इसेवाबाट प्याकेज खरिद गर्दा ढिलाइ हुने समस्या दोहोरिएको बताएका छन्। उनीहरूका अनुसार कनेक्ट आईपीएस लगायत अन्य भुक्तानी माध्यमबाट प्याकेज खरिद गर्दा तत्काल सेवा सक्रिय हुने गरेको छ। तर इसेवाबाट खरिद गर्दा भने लामो समयसम्म एक्सेस नआउँदा विश्वकपका महत्वपूर्ण खेल छुट्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ।

सामाजिक सञ्जालमा सेवाग्राहीहरूले ‘पैसा समयमै लिने तर सेवा दिन नसक्ने’, ‘विश्वकप हेर्न किनेको प्याकेज नै सक्रिय नभएपछि पैसा खेर गयो’ र ‘समस्या समाधानमा पनि ढिलासुस्ती भइरहेको’ भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

विश्वकप जस्तो प्रत्यक्ष प्रसारणमा आधारित सेवामा समयमै पहुँच नपाउँदा ग्राहकहरू थप आक्रोशित बनेका छन्। सेवा प्रभावित भएको गुनासो बढिरहे पनि यस विषयमा इसेवाले औपचारिक धारणा सार्वजनिक गरेको देखिएको छैन।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्