भिजिट भिसामा आएर ठमेलमा यौनधन्दा, ५ देशका ४३ विदेशी महिला डिपोर्ट

insight dainik

काठमाडौं, असार १ — भिजिट भिसामा नेपाल आएर काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा यौनधन्दामा संलग्न रहेको आरोपमा पाँच देशका ४३ विदेशी महिलालाई पक्राउ गरी कारबाहीपछि स्वदेश फिर्ता (डिपोर्ट) गरिएको छ।

काठमाडौं प्रहरीले सञ्चालन गरेको ‘सुरक्षित काठमाडौं’ अभियानअन्तर्गत ती महिलालाई नियन्त्रणमा लिइएको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार भिजिट भिसामा नेपाल प्रवेश गरेका उनीहरू ठमेल क्षेत्रमा अवैध यौनजन्य गतिविधिमा संलग्न रहेको भेटिएपछि पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये २९ जना युगाण्डाका, ६ जना भियतनामका, ४ जना केन्याका, २ जना थाइल्यान्डका र २ जना बंगलादेशका नागरिक रहेका छन्। उनीहरूको उमेर २३ देखि ४५ वर्षबीच रहेको बताइएको छ।

अनुसन्धानका क्रममा ती महिलाहरूले ठमेलका सडक तथा रात्रीकालीन व्यवसाय केन्द्रित क्षेत्रमा ग्राहक खोज्ने, यौन सेवाका लागि मोलमोलाइ गर्ने तथा स्वदेशी र विदेशी पर्यटकलाई हैरानी दिने गरेको तथ्य खुलेको प्रहरीले जनाएको छ। ठमेलको फायरचोक क्षेत्रबाट मात्र एकैपटक २० जना युगाण्डाली महिला पक्राउ परेका थिए।

पक्राउ परेकाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको थियो। उनीहरू विभिन्न रकम धरौटीमा छुटेपछि अध्यागमन विभागले कानुनी प्रक्रिया पूरा गर्दै फरक–फरक मितिमा एक वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी सम्बन्धित देशमा डिपोर्ट गरेको जनाएको छ।

प्रहरीका अनुसार केही विदेशी नागरिकहरू भिसाको अवधि सकिनुअघि नेपालमा बसेर यौनधन्दामार्फत आम्दानी गर्ने र त्यसपछि स्वदेश फर्कने प्रवृत्ति समेत देखिएको छ। यस विषयमा थप निगरानी र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरीले पछिल्लो समय पर्यटकीय क्षेत्र ठमेलमा चोरी, लुटपाट तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न रात्रीकालीन गस्ती र सुरक्षा निगरानी बढाएको छ। नेपालमा यौनजन्य व्यवसाय कानुनतः निषेधित रहेकाले सर्वसाधारणबाट प्राप्त गुनासोका आधारमा विशेष अपरेसन सञ्चालन गरिएको एसपी भट्टराईले बताए। प्रहरीले यस्ता गतिविधि नियन्त्रणका लागि आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्