काठमाडौं, असार १ — रसुवा जिल्लाको प्रसिद्ध पर्यटकीय गन्तव्य लाङटाङस्थित कञ्जिन गोम्पा तथा आसपासका क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनबाट नियमित विद्युत् सेवा सुरु भएको छ। यससँगै वर्षौंदेखि वैकल्पिक ऊर्जामा निर्भर स्थानीय बासिन्दा, पर्यटन व्यवसायी तथा उद्योग सञ्चालकहरू लाभान्वित भएका छन्।
नेपाल विद्युत् प्राधिकरणको रसुवा वितरण केन्द्रका प्रमुख गुञ्जमान तामाङका अनुसार गोसाइँकुण्ड गाउँपालिका–४ अन्तर्गत पर्ने कञ्जिन गोम्पा र वरपरका क्षेत्रमा केन्द्रीय प्रसारण लाइन जडान गरी नियमित विद्युत् आपूर्ति सुरु गरिएको हो। प्राधिकरणले गोसाइँकुण्ड र लाङटाङजस्ता दुर्गम पर्यटकीय क्षेत्रलाई राष्ट्रिय विद्युत् प्रणालीसँग जोड्न करिब ९ करोड रुपैयाँ लगानी गरेको जनाएको छ।
प्रसारण लाइन विस्तारसँगै लाङटाङ क्षेत्रमा रहेका करिब २०० घरधुरी प्रत्यक्ष रूपमा विद्युत् सेवाबाट लाभान्वित भएका छन्। यसले होटल व्यवसाय सञ्चालन गर्न सहज बनाएको छ भने स्थानीय पर्यटन क्षेत्रको विकासमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ। पर्यटक, होटल व्यवसायी तथा स्थानीय बासिन्दाले विद्युत् सेवा पुगेपछि खुसी व्यक्त गरेका छन्।
प्रमुख तामाङका अनुसार कञ्जिन उपत्यकामा सञ्चालित चीज उद्योग, बेकरी उद्योग तथा अन्य साना घरेलु उद्योगहरूको सञ्चालनमा विद्युत् सेवाले महत्वपूर्ण सहयोग पुर्याएको छ। यसले उत्पादन क्षमता वृद्धि, लागत घटाउने तथा व्यवसाय विस्तारमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
समुद्री सतहबाट करिब ३,८७० मिटर उचाइमा अवस्थित कञ्जिन गोम्पा लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रहेको चर्चित हिमाली बस्ती हो। लाङटाङ पदमार्गको प्रमुख गन्तव्य मानिने यस क्षेत्रबाट हिमाल, हिमनदी तथा मनमोहक प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ।
यसअघि कञ्जिन क्षेत्रमा कादुरी फाउन्डेसनको सहयोगमा निर्माण गरिएको १०० किलोवाट क्षमताको च्योआहा खोला लघु जलविद्युत् आयोजनाबाट विद्युत् आपूर्ति हुँदै आएको थियो। अब भने राष्ट्रिय प्रसारण लाइनसँग जोडिएपछि यहाँ थप भरपर्दो र नियमित विद्युत् सेवा उपलब्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले देशका दुर्गम तथा पर्यटकीय क्षेत्रमा विद्युत् सेवा विस्तार अभियानलाई तीव्रता दिएको जनाएको छ। गत वर्ष रसुवाकै अर्को प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य गोसाइँकुण्डमा पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको थियो।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्