काठमाडौं, असार ८ । नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूमा भारतीय पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको छ। भैरहवा, वीरगञ्ज, कृष्णनगर, मर्यादपुर, गड्डाचौकी र जमुनाहा लगायतका सीमा नाकाबाट दैनिक २ हजारभन्दा बढी भारतीय सवारीसाधन नेपाल प्रवेश गरिरहेको तथ्यांकले देखाएको छ।
गर्मी बिदा, भारतका विभिन्न राज्यमा बढ्दो तापक्रम, सामाजिक सञ्जालमार्फत भएको प्रचारप्रसार तथा धार्मिक पर्यटनको आकर्षणका कारण भारतीय पर्यटकको आगमन बढेको पर्यटन व्यवसायीहरूको भनाइ छ। केही वर्षअघि मुख्यतः पशुपतिनाथ र मुक्तिनाथ दर्शनका लागि आउने भारतीयहरू अहिले पोखरा, चितवन, लुम्बिनी, मुस्ताङ, मनाङ, पाल्पा र बर्दिया जस्ता गन्तव्यमा घुम्न जाने क्रम पनि तीव्र भएको छ।
भैरहवा नाकाबाट मात्रै दैनिक करिब ६ सय भारतीय सवारी नेपाल भित्रिने गरेका छन् भने बिदाका समयमा यो संख्या १,२०० सम्म पुग्ने गरेको भन्सार कार्यालयले जनाएको छ। वीरगञ्ज नाकाबाट पनि दैनिक ६०० देखि ७०० सवारी नेपाल प्रवेश गरिरहेका छन्।
भारतीय पर्यटकको बढ्दो आगमनले पोखरा, चितवन, पाल्पा लगायतका क्षेत्रमा होटल तथा रिसोर्टहरू भरिभराउ हुन थालेका छन्। पोखराका होटलहरूको अकुपेन्सी ९० प्रतिशतसम्म पुगेको व्यवसायीहरूको दाबी छ। ग्रामीण होमस्टे र रिसोर्टहरूमा समेत अग्रिम बुकिङ बढेको छ।
पर्यटन व्यवसायीहरूका अनुसार सामाजिक सञ्जालमा भाइरल भएका भिडियो, भारतीय ट्राभल भ्लगरहरूको सामग्री तथा नेपाल पर्यटन बोर्डको प्रचार अभियानले भारतीय पर्यटक आकर्षित गर्न ठूलो भूमिका खेलेको छ। भारतीय अभिनेता आशिष बिद्यार्थी लगायतका चर्चित व्यक्तित्वका यात्रा भिडियोहरूले पनि नेपालप्रतिको आकर्षण बढाएको बताइएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले नेपालले आध्यात्मिक तथा धार्मिक पर्यटनलाई थप प्रवर्द्धन गर्नुपर्ने बताउँदै तीर्थाटन विभाग स्थापना गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
भारतीय पर्यटकको बढ्दो आगमनले होटल, रेष्टुरेन्ट, यातायात, साहसिक पर्यटन तथा वन्यजन्तु सफारी व्यवसायलाई ठूलो राहत पुगेको पर्यटन क्षेत्रका सरोकारवालाहरूले बताएका छन्।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्