अमूर्त सम्पदा संरक्षणमा महानगरको साथ : १४५ परम्परागत समुदायलाई दुई–दुई लाख रुपैयाँ अनुदान

insight dainik

काठमाडौं, असार १२ — काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत काठमाडौं उपत्यकाका अमूर्त सांस्कृतिक सम्पदा, जात्रा तथा पर्व संरक्षणमा योगदान पुर्‍याउँदै आएका परम्परागत समुदायलाई सम्मानस्वरूप अनुदान हस्तान्तरण गरेको छ। राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा आयोजित विशेष कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले चेक हस्तान्तरण गरेकी हुन्।

महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग मार्फत आयोजित कार्यक्रममा काठमाडौंभित्र रहेका ७३ ज्यापु समुदाय, ४७ खड्गी समुदायका गुठी तथा २५ गुँला धर्म बाजा खल गरी कुल १४५ परम्परागत संस्था लाई जनही दुई लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको हो।

कार्यक्रमको मुख्य उद्देश्य आर्थिक सहयोग वितरण मात्र नभई पुस्तौंदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएका अमूर्त सांस्कृतिक सम्पदा, जात्रा, पर्व, परम्परा तथा सांस्कृतिक अभ्यासप्रति महानगरको अभिभावकीय दायित्वलाई सुदृढ बनाउनु रहेको महानगरले जनाएको छ। सम्बन्धित समुदायहरूले आफ्नै पहल, श्रम र स्रोतबाट निरन्तर रूपमा परम्परा जोगाउँदै आएको योगदानको कदर गर्दै महानगरले यस्तो सहयोगलाई निरन्तरता दिएको बताइएको छ।

कार्यवाहक प्रमुख डंगोलले काठमाडौंको मौलिक पहिचान यसको जीवित संस्कृति, जात्रा र परम्परामा आधारित रहेको उल्लेख गर्दै यस्ता सम्पदाको संरक्षणमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताइन्। महानगरले भविष्यमा पनि यस्ता सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा विभिन्न परम्परागत समुदायका प्रतिनिधि, गुठीका पदाधिकारी, जनप्रतिनिधि तथा महानगरका कर्मचारीहरूको उपस्थिति रहेको थियो। अनुदान प्राप्त समुदायका प्रतिनिधिहरूले महानगरले गरेको सम्मान र सहयोगले सांस्कृतिक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

काठमाडौं महानगरपालिकाले समुदायमा आधारित सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्दै जीवित संस्कृति, जात्रा, पर्व तथा परम्परालाई दीर्घकालसम्म संरक्षण गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्