गोरखा जिल्लामा अफ्रिकन स्वाइन फिभर (एएसएफ) को संक्रमण तीव्र रूपमा फैलिँदा दुई महिनाको अवधिमा २५० भन्दा बढी सुँगुर तथा बङ्गुर मरेका छन्। रोगको प्रकोप बढ्दै जाँदा किसानहरू ठूलो आर्थिक क्षतिको सामना गर्न बाध्य भएका छन् भने पशु स्वास्थ्य अधिकारीहरूले संक्रमण नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गोरखाका अनुसार संक्रमण मुख्य रूपमा गोरखा नगरपालिका–६, ७ र ८ तथा सहिद लखन गाउँपालिका–७ का सुँगुरपालन फार्ममा देखिएको छ। केन्द्रका प्रमुख अनन्त कोइरालाले हालसम्म प्राप्त विवरणअनुसार गोरखा नगरपालिका–६ का किसान राजकुमार श्रेष्ठको फार्ममा ८० वटा, जुना रेग्मीको फार्ममा १० वटा तथा मान्द्रेढुङ्गाका धनकुमार गुरुङको फार्ममा ६० वटा बङ्गुर मरेको जानकारी दिए। अन्य किसानका फार्ममा पनि संक्रमणका कारण मृत्यु भएको भए पनि सबै विवरण अझै संकलन भइसकेको छैन।
कोइरालाका अनुसार अफ्रिकन स्वाइन फिभरको हालसम्म प्रभावकारी उपचार वा खोप उपलब्ध छैन। एक पटक संक्रमण फैलिएपछि सुँगुर बचाउने सम्भावना अत्यन्त न्यून हुने भएकाले रोग रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय हो। संक्रमित खोरमा पुगेका मानिस, दाना, उपकरण तथा अन्य सामग्रीमार्फत पनि रोग फैलिन सक्ने भएकाले जैविक सुरक्षा (बायोसेक्युरिटी) का मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने उनले बताए।
संक्रमित सुँगुरमा सुरुमा उच्च ज्वरो आउने, खाना खान छाड्ने, शरीरमा रातो धब्बा देखिने तथा केही दिनभित्रै मृत्यु हुने लक्षण देखिने किसानहरूले बताएका छन्।
पशु सेवा कार्यालयले किसानहरूलाई संक्रमण देखिएका खोरबाट अन्य सुँगुरलाई अलग राख्न, अनावश्यक आवतजावत रोक्न, खोर नियमित रूपमा निःसंक्रमण गर्न र शंकास्पद लक्षण देखिए तत्काल सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ। रोग नियन्त्रणमा सबै पक्षको सहकार्य आवश्यक रहेको कार्यालयको भनाइ छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्