अमेरिकी स्ट्रिमिङ कम्पनी नेटफ्लिक्सविरुद्ध चलचित्र निर्माता साइमन अफ्रामले १०५ मिलियन अमेरिकी डलर (करिब १४ अर्ब नेपाली रुपैयाँ) बराबरको क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका छन्। उनले अभिनेता निकोलस केज अभिनीत दोस्रो विश्वयुद्धमा आधारित फिल्म ‘फोर्टिट्युड’ (Fortitude) को मास्टर प्रतिलिपि नेटफ्लिक्सको हलिउडस्थित कार्यालयबाट चोरी भएको दाबी गरेका हुन्।
क्यालिफोर्नियाको अदालतमा दायर गरिएको मुद्दाअनुसार अफ्रामले करिब ४५ मिलियन डलर लगानी गरेर सात वर्ष लगाई निर्माण गरेको उक्त फिल्म बिक्रीका लागि नेटफ्लिक्सलाई मूल्यांकन गर्न दिएका थिए। यस क्रममा कम्पनीको अनुरोधमा असुरक्षित (अनइन्क्रिप्टेड) मास्टर हार्ड ड्राइभ नेटफ्लिक्सलाई बुझाइएको थियो।
मुद्दामा उल्लेख गरिएअनुसार, हार्ड ड्राइभ बुझाएको नौ दिनपछि नेटफ्लिक्सले इमेलमार्फत आफ्ना कार्यालयबाट धेरै हार्ड ड्राइभ चोरी भएको जानकारी दिएको थियो। तीमध्ये ‘फोर्टिट्युड’ फिल्म रहेको ड्राइभ पनि परेको दाबी गरिएको छ।
निर्माता पक्षले फिल्मको मास्टर प्रतिलिपि हराएपछि यो कुनै पनि बेला पाइरेसी वेबसाइटमा सार्वजनिक हुन सक्ने जोखिम बढेकाले फिल्मको व्यावसायिक मूल्य नै नष्ट भएको जनाएको छ। यस्तो अवस्थामा कुनै पनि वितरकले करोडौं डलर लगानी गरेर फिल्म खरिद गर्न इच्छुक नहुने उनीहरूको तर्क छ। साथै, यति संवेदनशील सामग्री सुरक्षित राख्न नेटफ्लिक्सले पर्याप्त सुरक्षा व्यवस्था अपनाउन नसकेको आरोप पनि लगाइएको छ।
यता नेटफ्लिक्सले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गरेको छ। कम्पनीले उद्योगमा प्रचलित सुरक्षा मापदण्ड पूरा नगरी पठाइएको सामग्री हराएको सम्पूर्ण जिम्मेवारी आफूले लिन नसक्ने जनाएको छ। साथै, फिल्मको अधिकार आफ्नोसँग नभए पनि चोरीको घटनाको अनुसन्धान गरिएको र सम्भावित पाइरेसी रोक्न आवश्यक निगरानी जारी राखिएको नेटफ्लिक्सको भनाइ छ।
यो मुद्दाको अन्तिम निर्णय अदालतबाट हुने भए पनि घटनाले चलचित्र उद्योगमा डिजिटल सामग्रीको सुरक्षा र वितरण प्रक्रियाबारे नयाँ बहस सुरु गराएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्