'महाभारत'का अश्वत्थामा तथा 'गजनी'का खलनायक प्रदीप रावतको ७४ वर्षमा निधन

insight dainik

भारतीय चलचित्र तथा टेलिभिजन क्षेत्रका चर्चित अभिनेता प्रदीप सिंह रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। रगत क्यान्सर (ब्लड क्यान्सर) बल्झिएपछि लामो समयदेखि उपचाररत रावतको मंगलबार साँझ मुम्बईको कोकिलाबेन धीरूभाई अम्बानी अस्पतालमा निधन भएको उनका व्यवस्थापकले जनाएका छन्। विगत केही महिनादेखि उनको स्वास्थ्य अवस्था स्थिर-अस्थिर हुँदै आएको थियो भने मृत्युअघि उनको प्लेटलेट काउन्ट अचानक घटेको बताइएको छ।

सन् १९५२ जनवरी २१ मा भारतको मध्यप्रदेशस्थित जबलपुरमा जन्मिएका रावतले सन् १९८५ मा 'मेरी जंग' चलचित्रबाट अभिनय यात्रा सुरु गरेका थिए। तर उनलाई घर-घरमा चिनाउने काम भने बी.आर. चोपडाको प्रसिद्ध टेलिभिजन शृंखला 'महाभारत'मा निभाएको अश्वत्थामाको भूमिकाले गरेको थियो। पछि उनले 'सरफरोश', 'लगान' र 'गजनी' लगायतका हिन्दी चलचित्रमा खलनायकको भूमिकामा व्यापक लोकप्रियता कमाएका थिए। तेलुगु चलचित्र 'सिए'मा उनको अभिनयले तेलुगु फिल्मफेयर उत्कृष्ट खलनायक पुरस्कार समेत दिलाएको थियो।

चार दशकभन्दा लामो अभिनय करियरमा रावतले हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायलम लगायत भारतका विभिन्न भाषाका दुई सयभन्दा बढी चलचित्रमा काम गरेका थिए। उनले नेपाली चलचित्र क्षेत्रमा समेत योगदान पुर्‍याएका थिए — चन्द्र पन्तद्वारा निर्देशित 'ह्रस्व दीर्घ' र 'आ बाट आमा' श्रृंखलाका चलचित्रहरूमा उनले अभिनेत्री विपना थापासँग सँगै काम गरेका थिए।

रावतको निधनपछि भारतीय मनोरञ्जन जगतका थुप्रै कलाकार तथा नेपाली अभिनेत्री विपना थापा र नीता ढुंगाना लगायतले श्रद्धाञ्जली अर्पण गरेका छन्। उनको अन्त्येष्टि सम्बन्धी थप जानकारी परिवारले सार्वजनिक गर्न बाँकी रहेको छ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्