रसुवा । प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य गोसाइँकुण्डमा जनैपूर्णिमा मेलालाई लक्षित गर्दै स्थानीय व्यवसायी तथा सम्बन्धित निकायले तयारी तीव्र पारेका छन्। हरेक वर्ष जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा ठूलो संख्यामा तीर्थयात्री पुग्ने भएकाले उनीहरूको आवास, खानपान र आधारभूत सुविधालाई व्यवस्थित बनाउन तयारी अघि बढाइएको हो।
आगामी भदौ १२ गते जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्डमा विशेष मेला लाग्दैछ। मेलामा सहभागी हुने तीर्थयात्रीलाई सहज होस् भनेर मार्गमा रहेका होटल तथा अस्थायी संरचनाको व्यवस्थापनलाई प्राथमिकता दिइएको छ।
गोसाइँकुण्ड मार्ग होटल व्यवसायी सङ्घका अध्यक्ष रेन्जन निमा तामाङका अनुसार खन्ती देउराली, डिम्सा, चन्दनबारी, लौरीविनायक हुँदै गोसाइँकुण्डसम्मका २५ भन्दा बढी होटल व्यवसायी तयारीमा जुटेका छन्। व्यवसायीहरूले तीर्थयात्रीका लागि आवश्यक आवास व्यवस्थापनसँगै प्रतीक्षालय र शौचालय निर्माण गरिरहेका छन्।
मेलाको समयमा खाद्यान्नको अभाव नहोस् भनेर दाल, चामल, तेल, नुन, मसला लगायत दैनिक उपभोग्य वस्तुहरू पनि मार्गका होटल तथा अस्थायी बासस्थलसम्म पुर्याउने काम भइरहेको छ।
तीर्थयात्रीको चापलाई ध्यानमा राख्दै दुई सयभन्दा बढी थर्पु अर्थात् अस्थायी टहरा निर्माण भइरहेका छन्। यी अस्थायी संरचनाले मेलाका बेला होटलमा ठाउँ नपाउने तीर्थयात्रीलाई रात बिताउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, लाङ्टाङ राष्ट्रिय निकुञ्जले तीर्थयात्रीको स्वास्थ्य तथा सरसफाइलाई ध्यानमा राख्दै प्रत्येक थर्पुमा अनिवार्य रूपमा शौचालयको व्यवस्था गर्न होटल व्यवसायीलाई आग्रह गरेको छ।
गोसाइँकुण्डमा जनैपूर्णिमाका दिन स्नान तथा पूजाआजा गर्न नेपालका विभिन्न स्थानबाट भक्तजन पुग्ने गर्छन्। धार्मिक आस्थाका साथै प्राकृतिक सौन्दर्यका कारण गोसाइँकुण्ड क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको समेत आकर्षणको केन्द्र बन्दै गएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्