जनकवि दुर्गालाल श्रेष्ठ रहेनन्, नेपाली र नेपालभाषा साहित्यमा एउटा युगको अन्त्य

insight dainik

काठमाडौं । नेपाली तथा नेपालभाषा साहित्यका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल श्रेष्ठको निधन भएको छ। उहाँको निधनसँगै नेपाली साहित्य, नेपालभाषा, गीत–संगीत र सांस्कृतिक क्षेत्रमा एउटा महत्वपूर्ण अध्यायको अन्त्य भएको छ। श्रेष्ठको निधनप्रति साहित्यकार, भाषासेवी तथा संस्कृतिकर्मीहरूले गहिरो दुःख व्यक्त गर्दै राज्यले उहाँलाई राजकीय सम्मानका साथ अन्तिम बिदाइ गर्नुपर्ने माग गरेका छन्।

सन् १९३५ मा काठमाडौंको न्हैकन्तलामा जन्मिएका श्रेष्ठले आफ्नो साहित्यिक यात्रा नेपालभाषाबाट सुरु गरेका थिए। पछि नेपाली भाषामा समेत निरन्तर कलम चलाउँदै कविता, गीत, गीति नाटक, खण्डकाव्य, बालसाहित्य र नाटकका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए। उहाँलाई नेपाल भाषा परिषद्ले ‘जनकवि’ उपाधि प्रदान गरेको थियो। साहित्य र नेपालभाषाको प्रवर्द्धनमा दशकौँ लामो योगदानका लागि मदन पुरस्कार गुठीले जगदम्बा–श्री २०६७ बाट सम्मान गरेको थियो।

साहित्यका अनेक विधामा अमिट छाप

दुर्गालाल श्रेष्ठका सिर्जनामा प्रेम, मानवता, सामाजिक चेतना, भाषिक अधिकार, समानता, परिवर्तन र सांस्कृतिक पहिचानका विषय बलियो रूपमा प्रस्तुत भएका छन्। उहाँका नेपाली भाषाका चर्चित कृतिमा ‘निमन्त्रणा’ (गीतिनाटक), ‘इच्छाको सिमाना’ (बालखण्डकाव्य), ‘तपक’, ‘फूल तिम्रै बारीको’, ‘किरमिरे धर्साहरू’, ‘इन्कलाबको पदचाप’, ‘अन्तर्भाव’, ‘कागजको डुङ्गा’, ‘चस्किँदो घाउ इतिहासको’, ‘अलिअलि टेक्सस’, ‘सङ्घारैनेर’, ‘सन्तको छाता’ र ‘सुनचरी’ लगायत छन्।

नेपालभाषामा पनि उहाँका दर्जनौँ महत्वपूर्ण कृति प्रकाशित छन्। ‘झसुका’, ‘लिसं’, ‘पीजा’, ‘जि स्वयम्भू त्वाथः’, ‘याकः फल्चा’, ‘इन्कलाबया पलाः सः’, ‘चिनियाम्ह किसिचा’, ‘ताइभाबा’, ‘सन्तया कुसा’, ‘कुलिकासा’, ‘सलंछ्योंया बेला’, ‘प्याखंपिचा’ लगायतका कृतिले नेपालभाषाको साहित्यिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्। विभिन्न स्रोतमा उहाँका नेपाली र नेपालभाषाका गरी दर्जनौँ कृति प्रकाशित भएको उल्लेख छ।

‘फूलको आँखामा’देखि ‘सयथरी बाजा’सम्म

श्रेष्ठ केवल कवि र साहित्यकार मात्र थिएनन्, नेपाली गीत–संगीतका अत्यन्त लोकप्रिय गीतकारसमेत थिए। उहाँको चर्चित गीत ‘फूलको आँखामा फूलै संसार’ नेपाली संगीतप्रेमीमाझ आज पनि उत्तिकै लोकप्रिय छ। यस गीतमा श्रेष्ठका शब्दलाई न्ह्यू बज्राचार्यले संगीत दिएका छन् भने आनी छोइङ डोल्माको स्वर रहेको छ।

त्यसैगरी ‘सयथरी बाजा एउटै ताल’, ‘गरिबको राष्ट्रगान’, ‘जहाँ कै होस् न’ लगायतका गीतले पनि उहाँको गीतकार व्यक्तित्वलाई स्थापित गरेका छन्। उहाँका सिर्जनामा शब्दमार्फत सामाजिक एकता, मानवता र विविधताबीचको सहअस्तित्वको सन्देश पाइन्छ।

नेपालभाषाको सांस्कृतिक तथा भाषिक आन्दोलनमा पनि श्रेष्ठका गीतको विशेष भूमिका रह्यो। ‘झी मसीनी’ जस्ता गीतलाई नेपालभाषा आन्दोलनसँग जोडिएको प्रभावशाली सिर्जनाका रूपमा लिइन्छ। चलचित्र ‘राजमती’ का लागि पनि उहाँले गीत लेखेका थिए भने बहुदलीय प्रजातन्त्रको आन्दोलनलाई पृष्ठभूमि बनाइएको चलचित्र ‘बलिदान’ मा समेत उहाँका गीत समावेश भएका थिए।

भाषा, संस्कृति र पहिचानका स्रष्टा

दुर्गालाल श्रेष्ठको विशेषता दुई भाषामा समान प्रभावका साथ सिर्जना गर्नु थियो। मातृभाषा नेपालभाषामा लामो समयदेखि साहित्य सिर्जना गर्दै आएका उनले नेपाली भाषामार्फत पनि आफ्नो सिर्जनालाई व्यापक नेपाली समाजसम्म पुर्‍याए। उनका रचनाहरू अंग्रेजी, जापानी, चिनियाँ तथा कोरियालीलगायत भाषामा समेत अनुवाद भएका छन्।

उहाँका सिर्जनामा भाषा केवल अभिव्यक्तिको माध्यम नभई पहिचान, संस्कृति र अधिकारसँग जोडिएको विषय बनेर आएको पाइन्छ। त्यसैले साहित्यकारहरूले उहाँलाई एउटा समुदाय वा भाषाका मात्र स्रष्टा नभई नेपालको बहुभाषिक र बहुसांस्कृतिक चेतनाका प्रतिनिधि व्यक्तित्वका रूपमा स्मरण गरेका छन्।

थुप्रै सम्मानले चिनिएको सिर्जनायात्रा

श्रेष्ठले जीवनभर विभिन्न साहित्यिक सम्मान प्राप्त गरे। जगदम्बा–श्री २०६७ बाहेक नरोत्तमदास–इन्दिरा पुरस्कार, अभियान पुरस्कार, नूर–गङ्गा पुरस्कार, राष्ट्रिय बालसाहित्य पुरस्कार, हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कारलगायतका सम्मानबाट उहाँ सम्मानित भएका थिए। नेपाल प्रज्ञा–प्रतिष्ठानका मानार्थ सदस्यसमेत रहेका श्रेष्ठलाई नेपाल भाषा परिषद्ले ‘जनकवि’ उपाधि दिएको थियो।

मदन पुरस्कार गुठीका अनुसार मातृभाषा नेपालभाषा र नेपाली भाषामा दशकौँसम्म सुमधुर गीत, कविता, काव्य तथा बालसाहित्य लेखेर नेपाली वाङ्मय समृद्ध बनाएको योगदानका लागि उहाँलाई जगदम्बा–श्री प्रदान गरिएको थियो।

‘जनकवि’को अन्तिम बिदाईमा राजकिय सम्मान माग

श्रेष्ठको निधनपछि साहित्यिक वृत्तले राज्यसँग उहाँलाई राजकीय सम्मान प्रदान गर्न माग गरेको छ। साहित्यकारहरूका अनुसार जीवनभर भाषा, साहित्य र संस्कृतिका लागि योगदान दिएका स्रष्टाको सम्मान व्यक्तिगत श्रद्धाञ्जलीमा मात्र सीमित हुनु हुँदैन।

श्रेष्ठको निधन एउटा व्यक्तिको अवसान मात्र नभई नेपाली र नेपालभाषा साहित्यबीच सेतु बनेको एक स्रष्टाको बिदाइ भएको साहित्यिक क्षेत्रको बुझाइ छ। उहाँका कविता, गीत, बालसाहित्य, गीति नाटक र सामाजिक चेतनाले धेरै पुस्तालाई छोएका छन्।

जनताको आवाज, भाषा र संस्कृतिलाई आफ्ना शब्दमा उतारेर ‘जनकवि’ बनेका दुर्गालाल श्रेष्ठ अब भौतिक रूपमा हामीबीच नरहे पनि ‘फूलको आँखामा फूलै संसार’ जस्ता गीत, कविता र दर्जनौँ कृतिमार्फत नेपाली समाजको स्मृतिमा लामो समयसम्म जीवित रहनेछन्।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्