काठमाडौं । टेस्ला र स्पेसएक्सका प्रमुख इलन मस्कले कुनै समय ‘इतिहासकै सबैभन्दा मूर्ख प्रयोग’ भनेको जीवाश्म इन्धनमा अहिले ठूलो लगानी गर्ने भएका छन्। स्पेसएक्सको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्बन्धी विवरणअनुसार कम्पनीले कृत्रिम बुद्धिमत्ता (एआई) डेटा सेन्टर सञ्चालनका लागि आगामी तीन वर्षमा प्राकृतिक ग्यास टर्बाइनमा २.८ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गर्ने योजना बनाएको छ।
यो ऊर्जा मुख्यतः मस्कको एआई कम्पनी xAI को मेम्फिस, टेनेसीस्थित ‘कोलोसस’ कम्प्युटिङ परिसरमा प्रयोग हुने बताइएको छ। करिब २ अर्ब डलर मोबाइल ग्यास टर्बाइनका लागि छुट्याइएको छ भने थप ८० करोड ५० लाख डलर बराबरका टर्बाइनको अर्डर यसअघि नै भइसकेको र तिनको आपूर्ति सन् २०२९ सम्म हुने उल्लेख छ।
मस्कले सन् २०१५ मा जीवाश्म इन्धन जलाएर पृथ्वीको वातावरण परिवर्तन गर्नु ‘इतिहासकै सबैभन्दा मूर्ख प्रयोग’ भएको बताएका थिए। तर तीव्र गतिमा बढिरहेको एआई कम्प्युटिङ मागका कारण अहिले उनको कम्पनीले तत्काल ठूलो मात्रामा विद्युत् उपलब्ध गराउन प्राकृतिक ग्यासको सहारा लिएको हो।
xAI को मेम्फिस परिसरमा दर्जनौँ ग्यास टर्बाइन सञ्चालनमा रहेको र तीमध्ये धेरैलाई अनुमति नलिइएको आरोप छ। अमेरिकी वातावरण संरक्षण निकाय (EPA) ले कम्पनीको यस्तो अभ्यास संघीय वायु प्रदूषण नियमविपरीत भएको निष्कर्ष निकालेको छ। NAACP लगायतका संस्थाले पनि नाइट्रोजन अक्साइड प्रदूषणको जोखिम देखाउँदै कानुनी चुनौती दिएका छन्।
यसैबीच, xAI को एआई व्यवसाय तीव्र रूपमा विस्तार भइरहेको छ। रिपोर्टअनुसार कम्पनीको एआई खण्डको आम्दानी वार्षिक आधारमा २४७ प्रतिशत बढेर २.६ अर्ब डलर पुगेको छ। कम्पनीले हाल १.४ गिगावाट क्षमताको कम्प्युटिङ पूर्वाधार सञ्चालन गरिरहेको र भविष्यमा २० गिगावाटसम्म ऊर्जा, शीतलीकरण तथा विद्युतीय पूर्वाधार पुर्याउने लक्ष्य राखेको छ।
प्राकृतिक ग्याससँगै ऊर्जा भण्डारणका लागि टेस्लाका मेगाप्याक ब्याट्री पनि प्रयोग गरिँदैछन्। टेस्लाले xAI का लागि थप २६ करोड ९० लाख डलर बराबरका मेगाप्याक बिक्री गरेको रिपोर्टमा उल्लेख छ।
मस्कको यो कदमले एआई विस्तारका लागि ऊर्जा संकट कति ठूलो बन्दै गएको छ भन्ने देखाएको छ। वातावरणीय प्रतिबद्धता र एआई पूर्वाधारको तीव्र विस्तारबीच उनको कम्पनीले लिएको यो बाटो भने आगामी दिनमा थप बहसको विषय बन्ने देखिन्छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्