अमेरिकामा सामाजिक सञ्जाल कम्पनी मेटाविरुद्ध बालबालिका तथा किशोरकिशोरीलाई फेसबुक र इन्स्टाग्राममा आकर्षित गरी लामो समयसम्म प्रयोग गर्न प्रेरित गरेको आरोपमा महत्वपूर्ण मुद्दाको सुनुवाइ सुरु भएको छ। क्यालिफोर्नियाको ओकल्यान्डस्थित अदालतमा सुरु भएको यो मुद्दाको सुनुवाइ करिब छ साता चल्ने बताइएको छ।
अमेरिकाका २९ राज्यले सन् २०२३ मा मेटाविरुद्ध मुद्दा दायर गरेका थिए। ती राज्यहरूले बालबालिकाको गोपनीयता संरक्षणसम्बन्धी संघीय तथा राज्य कानुन उल्लंघन गरेको आरोप लगाएका छन्। राज्यहरूले मेटासँग अर्बौँ डलर क्षतिपूर्ति माग्नुका साथै फेसबुक र इन्स्टाग्राममा बालबालिकाको सुरक्षा बढाउने विभिन्न परिवर्तन गर्नुपर्ने माग गरेका छन्।
सुनुवाइको सुरुवातमा क्यालिफोर्नियाका वकिलले मेटाले ११ र १२ वर्षका ‘लाखौँ’ बालबालिका इन्स्टाग्राममा रहेको थाहा पाए पनि उनीहरूलाई रोक्न पर्याप्त कदम नचालेको दाबी गरे। तर मेटाका वकिलले त्यस्ता प्रयोगकर्ताको संख्या करिब १ लाख मात्र रहेको बताएका छन्।
राज्य पक्षले मेटाको आन्तरिक अनुसन्धान, कर्मचारीका इमेल तथा च्याटलगलगायत लाखौँ दस्तावेजलाई प्रमाणका रूपमा प्रस्तुत गरेको छ। ती दस्तावेजले कम्पनीलाई सामाजिक सञ्जालको अत्यधिक प्रयोग र किशोरकिशोरीको मानसिक स्वास्थ्यमा पर्न सक्ने नकारात्मक प्रभावबारे जानकारी रहेको देखाउने राज्य पक्षको दाबी छ।
राज्यका वकिलले मेटाको व्यापारिक रणनीतिलाई प्रयोगकर्तालाई आकर्षित गर्ने, लामो समयसम्म प्लेटफर्ममा राख्ने र उनीहरूको डेटा प्रयोग गर्ने रूपमा चित्रण गरेका छन्। कम्पनीले सार्वजनिक रूपमा बालबालिकाका लागि प्लेटफर्म सुरक्षित रहेको बताउँदै आए पनि आन्तरिक अनुसन्धानसँग त्यसको विरोधाभास रहेको उनीहरूको आरोप छ।
मेटाले भने आरोप अस्वीकार गरेको छ। कम्पनीका वकिलले सामाजिक सञ्जालको ‘लत’ भन्ने कुरा वैज्ञानिक रूपमा स्थापित नभएको दाबी गर्दै धेरै किशोरकिशोरीले फेसबुक र इन्स्टाग्रामबाट सकारात्मक अनुभवसमेत प्राप्त गरेको बताए।
मेटाले आफ्ना प्लेटफर्ममा प्रयोगकर्ताको सुरक्षा सुधार गर्न विभिन्न उपकरण र सुविधा उपलब्ध गराएको पनि अदालतमा जनाएको छ। यो मुद्दाको फैसला सामाजिक सञ्जालमा बालबालिकाको पहुँच, गोपनीयता र प्लेटफर्म डिजाइनसम्बन्धी भविष्यका नियमका लागि महत्वपूर्ण बन्न सक्ने अपेक्षा गरिएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्